वीरगन्जः पर्साको पोखरिया नगरपालिका–९ का रघुनाथ साहकी २२ वर्षीया छोरी मधुमाला कुमारीको बिहे २०७१ मा पर्सौनीबिर्ताका मनोज साह तेलीसँग धुमधामसाथ भएको थियो । तीन वर्ष नबित्दै रघुनाथ छोरी मधुमालाको ज्वाइँ र परिवारजनले हत्या गरेको भन्दै न्यायको खोजीमा जिल्ला अदालतदेखि प्रहरीसम्म धाइरहेका छन् । उनी दाइजोका कारण छोरी मारिएको बताउँछन्।

२० वर्षीया अन्जुम आराको गत वैशाख १८ मा घरमै शंकास्पद अवस्थामा लास भेटियो । दाइजो नपाएको निहुँमा परिवारका सदस्यले घाँटी थिचेर हत्या गरेको माइती पक्षको आरोप छ ।

छोरीसँग ज्वाइँले फोन गर्न लगाएर ‘बुलेट’ मोटरसाइकल माग्न भनेको र नदिए मार्ने धम्की दिएको छोरीले बताएको अन्जुमकी आमा रोशन जहानले जानकारी गराइन्।


वीरगन्ज महानगरपालिका रबिता कुमारीको पर्सा बहुदरमाई–८ का शिवदयाल कुमारसँग विवाहको तयारी भई निमन्त्रणा कार्ड वितरण भयो । सोही अवस्थामा केटा पक्षले दाइजो माग बढायो ।

रबिताका बुबाले दाइजो दिन असमर्थता देखाउँदा केटा पक्षले विवाह नगर्ने धम्की दिए । बाबुआमाको तनाव सहन नसकी रबिताले वैशाख ६ मा झुन्डिएर आत्महत्या गरिन्।

दाइजोले निम्त्याएका अप्रिय घटनाका केही उदाहरण हुन् यी । अहिले तराईमधेसमा बिहेको सिजन छ । कतै बिहेको रमझम चलिरहेको छ । कतै दाइजोका कारण मृत्यु निम्तिएको छ । परिवार शोकमा डुबेको छ । नागरिक दैनिकमा समाचार प्रकाशित छ ।