काठमाडौंः महोत्तरीको बर्दिबासमा बालिका हत्याको बिरोध प्रदर्शनको क्रममा प्रहरीको गोली लागेर घाइते भएकामध्ये एक जनाको मृत्यु भएको छ ।

बर्दिवास नगरपालिका–१ बस्ने ४० वर्षीय सञ्जय भनिने बुद्धिराज न्यौपानेको मृत्यु भएको हो । उनको उपचारका क्रममा मंगलबार राति मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुवै तीघ्रामा गोली लागेर घाइते भएका न्यौपानेलाई हेलिकप्टरमार्फत् काठमाडौंस्थित ग्रान्डी अस्पतालमा ल्याइएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको हो ।

बर्दिवास नगरपालिका–१४ की ६ वर्षीया बालिकाको हत्याको विरोधमा प्रदर्शनमा उत्रिएका स्थानीयले पूर्वपश्चिम राजमार्ग अन्तर्गत बर्दिवासमा मंगलबार सडक अवरुद्ध पारेका थिए ।


। राजमार्ग खुलाउन प्रहरीले दर्जनौं राउन्ड अश्रुग्यास र गोली चलाएको थियो । गोली लागेर तीन जना घाइते भएका थिए ।


प्रकाशित मितिः २०७७ साल मंसिर १० बुधबार, १३:११