काठमाडौंः नेपाली कांग्रेसको भ्रातृ संगठन नेविसंघले माइतीघर मण्डलामा निषेधित क्षेत्र तोड्दै प्रदर्शन गरेको छ ।

बुधबार दिउँसो करीब ३ बजेदेखि नेविसंघका कार्यकर्ताले  ‘निषेधित क्षेत्र खारेज गर’, ‘गोविन्द केसी र गंगामाया अधिकारी’ को माग पूरा गर लगायतको नारा लगाएका हुन् ।

माइतीघरको प्रदर्शनमा नेविसंघका पूर्वसभापति तथा कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेल पनि सहभागी थिए ।

उक्त प्रदर्शनलाई निषेधित क्षेत्रमा भएको भन्दै प्रहरीले हस्तक्षेप गरेको छ । प्रहरीले प्रदर्शनकारीलाई धकेल्दै माइतीघरबाट धपाउने प्रयास गरेको थियो ।

सरकारले यसअघि काठमाडौंका ७ स्थानमा मात्र विरोध प्रदर्शन गर्न पाइने गरी तोकेको थियो ।