काठमाडौंः बडादशैंको दशौं दिन आज मुलुकभर मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरुप टीका र जमरा थापी मनाइँदै छ ।

आश्विन शुक्ल दशमीका दिनमा आज घटस्थापनाका दिन स्थापित घडाबाट अभिषेक गरी मान्यजनका हातबाट नवदुर्गाको प्रसादका रुपमा रातो टीका र समृद्धिको प्रतीक जमरा लगाएर मनाइँदै छ ।

असत्यमाथि सत्य र आसुरीशक्तिमाथि दैवीशक्तिको विजयको प्रतीकका रुपमा मनाइने विजयादशमी बडादसैंकै सबैभन्दा महत्वपूर्ण दिन हो ।

सत्ययुगमा देवीले महिषासुर र त्रेता युगमा रामले असत्यको प्रतीक रावणमाथि आजकै दिन विजय प्राप्त गरेकाले त्यही समयदेखि विजयादशमी मनाउन शुरु गरिएको धार्मिक विश्वास छ ।


नेपाल पञ्चाङ्ग निर्णायक समितिले आज देवी विसर्जनको साइत बिहान १०ः११ बजे रहेको जनाएको छ । टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि भने बिहान १०ः१९ बजे साइत उत्तम रहेको समितिले जनाएको छ । समितिका अनुसार विजयादशमी आफैंँमा शुभ दिन भएकाले आज टीका लगाउन सामान्य मानिसले साइत खोज्नु पर्दैन । नौ दिनसम्म पूजाअर्चना गरेको जमरा अनि दहि, रातो अविर, केरा र चामलसहितको समिश्रणबाट तयार पारीएको रातो बाक्लो अक्षताले निधार भरीने टिका नै विजयादशमीको महत्वपूर्ण सकल परिवार एकै ठाँउमा बसेर, घरको मूलखाँबो पूजा गरेर उमेरक्रमानुसार ठूला अनि क्रमशः सानाहरुले टीका, जमरा र आर्शिवाद थाप्ने चलन छ ।

आज मान्यजनबाट दुर्गाको प्रसादका रुपमा टीका ग्रहण गर्दा अन्य फूलका साथै घटस्थापनाका दिनमा वैदिक विधिपूर्वक राखिएको पहेँलो जमरालाई समृद्धिको प्रतीकका रुपमा मानी लगाउने गरिन्छ । आजदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म मान्यजनबाट दुर्गाको प्रसादस्वरुप टीका, जमरा र आशीर्वाद थाप्न हिंँड्ने मानिसको बाटामा भीड देख्न सकिन्छ ।

कोरोना संक्रमणको जोखिम रहेकाले टीका लगाइदिने र टीका थाप्ने व्यक्ति दुवैले मास्क लगाउनु पर्ने जनस्वास्थ्यविदहरुले सुझाव दिएका छन् । साथै आ–आफ्नो घरमै बसेर दसैं मनाउन पनि उनीहरुले आग्रह गरेका छन् ।


प्रकाशित मितिः २०७७ साल कार्तिक १० सोमबार, ०६:५८