काठमाडौंः समाजसेवी, राजनीतिज्ञ तथा गायक मिठाराम केसी (खत्री) को ‘गल्ती नगर’ बोलको गीतको भिडियो आज सार्वजनिक भएको छ ।

गीतको रचना र भाका केसीकै हो र, गीतमा संगीत–संयोजन राजु कार्कीको छ । गीतमा केसी र कमला पोखरेलको स्वर रहेको छ ।

कोरोना संक्रमणबाट विश्व आक्रान्त भैरहेको अवस्थामा विदेश गएका युवाहरुलाई स्वदेश फर्कन र शहरमा बसेका युवतीहरुलाई पनि गाउँमै फर्केर काम गर्न प्रेरित गरिएको गीतका रचनाकार तथा गायक केसीले स्पष्ट पारे ।

भिडियोको सार्वजनिक आज रिपोर्टर्स क्लब नेपालमा एक कार्यक्रमका बीच क्लबका सभापति एवम् प्राईम टाईम्स टेलिभिजनका अध्यक्ष ऋषि धमला, राष्ट्रिय लोक तथा ंदोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष रमेश बिजीले संयुक्त रूपमा गरेका हुन् ।


भिडियो विमोचनपश्चात् सम्बोधन गर्दै पत्रकार ऋषि धमलाले गीत राम्रो बनेको भन्दै तारिफ गरे । उनले भने, ‘यो गीत समयसान्दर्भिक छ । युवा पुस्तालाई स्वदेशमै केही गर भनेर प्रोत्साहन गरिएको छ । म मिठाराम केसीजीलाई हार्दिक बधाई तथा शुभकामना भन्न चाहन्छु ।’

गीतबारे प्रकाश पार्दै केसीले ‘युवा जति विदेशमा, यस्तो अवस्थामा कोरोनाको कारणले गाउँमा दुवैथरि विदेश र शहरमा भएका युवायुवतीहरु अहिले गाउँ आएका छन् । गीतको भिडियोमा केटाकेटी अब गाउँमै बस्ने वाचा देखाईएको छ । केटा मुग्लान नजाने र, केटी शहर नजाने शर्तमा उनीहरुको प्रेम सम्बन्ध हुन्छ । यो गीतमा सरकारसमक्ष पनि युवाहरुलाई स्वदेशमै रोजगारी सिर्जना गर भनिएको छ ।’

भिडियोमा मुख्य अभिनय खासगरी साहुको भूमिकामा कृष्णभक्त महर्जन छन् भने रमेश थापा र आयुष्मा कार्कीको मुख्य अभिनय रहेको छ । र, केटाको आमाको भूमिकामा सञ्चारकर्मी गोमा पाण्डे देखिएकी छिन् ।

भिडियो फुलचोकी मिडियामार्फत सार्वजनिक भएको हो ।

भिडियो हेर्नुहोस्ः


प्रकाशित मितिः बुधबार, असोज २१, २०७७, २०:३३