काठमाडौंः गोरखा सहिद लखन गाँउपालिका वडा नम्वर–८ निवासी स्थानीय युवा समाजसेवी नरबहादुर अधिकारीलाई औषधि उपचारार्थ १२ लाख रुपियाँ आर्थिक सहयोग प्रदान गरिएको छ ।

उनको दुईटै मिर्गौलाले काम गर्न छोडेपछि उपचारार्थ विभिन्न सहयोगी हातहरुले आर्थिक सहयोग प्रदान गरेका हुन । शनिवार ठमेलमा आयोजित औपचारिक कार्यक्रममा सांसद चुडामणि खड्काले संकलित सहयोग पीडित अधिकारीलाई प्रदान गरेका हुन् ।

मिर्गौलापीडित अधिकारीको मिर्गौला प्रत्यारोपण गर्न करीव ४० लाख खर्च लाग्ने अनुमान गरिएको छ ।

त्यतिको उपचार खर्च जुटाउन नसकेपनि थोरैभएपनि सहयोग प्रदान गर्न स्वदेश तथा विदेशमा रहेका युवाहरुले उक्त रकम संकलन गरेका हुन ।


सांसद खड्काले आफूपनि मिर्गौला रोगबाट पीडित ब्यक्ति भएको जानकारी दिदै यस रोगले दिने आर्थिक, मानसिक र शारीरिक पीडा तथा यातना निकै कठिन हुने गरेको बताए । उनले भने, ‘यो रोग कसैलाई नलागोस ।’

सहिद लखन गाप वडा नम्वर–८ का अध्यक्ष काशीनाथ अम्गाईले स्वदेश तथा विदेशमा रहेका युवाहरुको सहयोगी हातहरुले स्थानीय दुखी, गरिव, असहाय र निमुखा जनताको स्वास्थ्य र शिक्षा लगायत विभिन्नक्षेत्रमा आमूल परिवर्तन ल्याउन सकिने बताए ।

त्यस्तैं, मिर्गौलापीडित अधिकारीले शहिद लखन गापका स्थानीय युवाहरुले आर्थिक सहयोग स्वरुप प्रदान गरिएको उक्त रकम आफ्नो लागि महत्वपूर्ण उपलब्धी भएको बताए । सामान्य आयस्रोत भएका मिर्गौला पीडितहरुले भारतमा गई उपचार गराउदाको पीडा समेत पोखे ।

गोरखाका स्थानीय दुखी गरिव तथा असहाय र निमुखाहरुको औषधि उपचारका लागि आर्थिक सहयोग संकलन अभियान सञ्चालन गर्दै आएका समाजसेवी उत्तरकुमार श्रेष्ठले स्वदेश तथा विदेशमा रहेका सहयोगी हात र पवित्र मन भएका युवाहरु एकठाँउमा उभिदा धेरै विकास गर्न सकिने बताए ।

आर्थिक सहयोग रकम हस्तान्तरण कार्यक्रमका सभापति एवं पर्यटन ब्यवसायी नवराज अम्गाईले समृद्ध गोरखा निर्माणका लागि आफू सधै लागि पर्ने प्रतिवद्धता ब्यक्त गरे ।

विशेष गरी आफू जन्मीएको स्थान सहिद लखन गापको वडा नम्वर–८ लाई समृद्ध बनाउनु पर्नेमा जोड दिए ।