काठमाडौंः दुईदिने राजकीय भम्रणका लागि नेपाल आएका भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदर दास मोदीको ‘नागरिक’ अभिनन्दनमा प्रदेश २ का मुख्यमन्त्रीले दिएको अभिब्यक्तिले आम नेपाली नागरिकहरुमा नैराश्यता छाएको छ ।

मुख्यमन्त्री राउतले संविधानलाई विभेदकारी र प्रदेश २ का जनतालाई भारत सरकारले सहयोग गर्न आग्रह गरेका थिए । उनले भारतीय प्रधानमन्त्री मोदीलाई हाम्रा प्रधानमन्त्री समेत भनेर सम्बोधन गरेका थिए ।

छिमेकी प्रधानमन्त्रीको भम्रणको क्रममा कस्तो संझौता गर्ने, कस्तो सहयोग लिने दिने भन्ने कुरा केन्द्र सरकारको विषयसँग सम्बन्धित विषय हुन् । प्रदेश सरकारले सीधै छिमेकी प्रधानमन्त्रीसँग सहयोगको याचना गर्नु संविधान सम्मत छैन ।


। प्रदेश प्रमुखले संविधान विपरित सहयोगको याचना गर्नु र संविधानमाथि नै टिप्पणी गर्नु कानूनविपरीत कार्य हो ।

मुख्यमन्त्री राउतले मोदीको अभिनन्दनका क्रममा बोलेका मुख्य विषय दुई ओटा मात्र थिए । पहिलो, नेपालको संविधान विभेदकारी छ र दोस्रो मधेस गरिब छ, सहयोग चाहियो ।

मुख्यमन्त्रीको सो संविधानविपरीतको अभिव्यक्तिले भविष्यमा प्रदेश सरकार र केन्द्र सरकारबीच विवाद देखिन सक्ने प्रधानमन्त्री केपी शर्मा ओलीको आइतबार संसदमा बताएका छन् ।

प्रधानमन्त्रीले सम्बोधनका क्रममा भनेका छन्, ‘अभिनन्दनका क्रममा व्यक्त भएका कतिपय कुरा राष्ट्रिय मर्यादा, कूटनीतिक मर्यादाका दृष्टिले कमजोर र अनुपयुक्त छन् ।’ उनले सम्बोधनको क्रममा देशको हितविपरीत र सार्वभौम अधिकारमाथि कसैले हनन हुने खालका अभिव्यक्ति दिनु हुँदैन र संविधान नेपाली जनताले बनाएका हुन् केही परिर्वतन गर्नुपरेमा आपसी समझदारीमा गर्नुपर्दछ समेत भनेका छन् ।