धनगढीः सुदुर पश्चिम प्रदेशका मुख्य मन्त्री माननीय त्रिलोचन भट्टले कोभिडको संक्रमण अझ फैलन सक्ने भएकाले थप सजग हुँदै तयारीलाई बढाउनुपर्ने आवश्यकता औँल्याएका छन् ।

कोका—कोला र नेपाल रेडक्रस सोसाइटी (नेरेसो) को साझेदारी अन्तरर्गत कोभिड–१९ को महामारीमा अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, विरामी र स्वयंसेवकहरुको सुरक्षा अभिबृद्धिको लागि सेती प्रादेशिक अस्पताल धनगढी, कैलालीको प्राङ्गणमा सुरक्षा सामग्री तथा उपकरण अस्पताललाई हस्तान्तरण गर्दै संक्रमणप्रति थप सजग रहनुपर्ने बताएका हुन् ।

सेती प्रदेश अस्पतालका मेडिकल सुपरीटेडेन्ट डा. हेमराज पाण्डेलाई सामग्री हस्तान्तरण गर्दै उनले भने, ‘रेडक्रसले सरकारको सहयोगीको कार्य गर्दैछ र निश्पक्षतालाई ध्यान दिदै थप सहयोग गर्न रेडक्रस लगायतको संस्थालाई अनुरोध गर्दछु ।


।’

आज हस्तान्तरण गरिएका सामग्रीमा रु. १६ लाख ३२ हजार ८ सय ५० मूल्यको आइसीयूमा प्रयोग हुने एक भेन्टिलेटरका साथै ६ हजार सर्जिकल मास्क, २ हजार ५०० जोडी सर्जिकल पन्जा, ५० थान सुरक्षा पोशाक, केएन ९५ मास्क २०० थान र २५ थान सुरक्षा चस्मा वटा रहेका कार्यक्रमको सञ्चालन गर्दै नेरेसोका सञ्चार निर्देशक दिव्यराज पौडेलले जानकारी दिए । ती सामग्रीहरुको जम्मा मूल्य १८ लाख ५१ हजार एक सय रहेको छ ।

कार्यक्रममा नेपाल रेडक्रस केन्द्रीय कार्यालयका कार्यक्रम संयोजक राजु राउत, नेपाल रेडक्रस सोसाइटी कैलाली शाखाका पदाधिकारी एवं कर्मचारी र अस्पतालका कर्मचारी लगायतको उपस्थिति रहेको थियो ।

यसअघि गत असारमा पहिलो चरणमा मास्क, सुरक्षा बुट, स्यानिटाइजर, क्लोरिन झोल र साबुन अस्पताललाई उपलव्ध गराइएको थियो ।

नेपाल रेडक्रस सोसाइटी र कोका—कोला नेपालको यो साझेदारी केन्द्रीय स्तरमा मात्र नभई प्रदेश र जिल्ला तहमा पुग्न पाएकोमा खुशी व्यक्त गर्दै रेडक्रसका केन्द्रीय महामन्त्री पिताम्बर अर्यालले कोरोना संक्रमणको जोखिममा रही अग्रपंक्तिमा रहेर कार्य गर्ने स्वास्थ्यकर्मीको शुरक्षा र विरामीको सघन उपचारमा मद्दत पुर्याउने यो एउटा प्रयास भएको बताए ।


प्रकाशित मितिः २०७७ साल मंसिर १४ आइतबार, १८:४५