काठमाडौंः नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कर्णाली प्रदेशका संसदीय दलका नेता तथा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले गुलाबजङ्ग शाहलाई प्रमुख सचेतक पदको जिम्मेवारीबाट मुक्त गरेका छन् ।

मुख्यमन्त्री शाहीले शाहको कामकारबाही सन्तोषजनक नभएको भन्दै आज प्रमुख सचेतक पदबाट मुक्त गरेका हुन् ।

‘नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कर्णाली प्रदेश सभा दलको नेताको हैसियतमा प्रदेशसभा दलको विधानको धारा ७ अनुसार प्रमुख सचेतकमा नियुक्त गरिएको तपाईंका कामकारबाही सन्तोषजनक नभएकोले आजसम्म गरेको कामका लागि धन्यवाद दिँदै तपाईंलाई प्रमुख सचेतकको जिम्मेवारीबाट मुक्त गरेको छु’, मुख्यमन्त्री शाहीद्वारा हस्ताक्षरित पदमुक्त गरेको पत्रमा भनिएको छ ।


आज नै मुख्यमन्त्री शाहीले यसअघिकी सचेतक सीताकुमारी नेपालीलाई प्रमुख सचेतकमा नियुक्त गरेका छन् ।

पदमुक्त गरिएको पत्रको बोधार्थ नेकपा कर्णाली प्रदेश, केन्द्रीय कार्यालय र प्रदेशसभा सचिवालयमा पठाइएको छ ।

आइतबार मात्रै नेकपाका १८ जना सांसद दलका नेता शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरएका थिए ।

मुख्यमन्त्री शाहीविरुद्ध परेको अविश्वासको प्रस्तावमाथि निर्णायक छलफल गर्न नेकपाले भोलि मगंलबार १ बजे संसदीय दलको बैठक बोलाएको छ ।


प्रकाशित मितिः २०७७ साल असोज २६ सोमबार, १५:३४