नारायणगढः मुग्लिङ सडकखण्डको चारकिलो भन्ने ठाउँको टोपो खोलामा आज बिहान पहिरो खसेपछि सडक अवरुद्ध भएको छ ।
पहिरो बिहान करिब ४ बजे खसेपनि पन्छाउने काम अझै सुरु हुन सकेको छैन् ।

वर्षाको क्रम नरोकिएकाले पहिरो पन्छाउन नसकिएको प्रहरीले जनाएको छ । पुरै डाँडो खसेकाले पहिरो पन्छाउन दिनभरजसो लाग्नसक्ने प्रहरीको अनुमान छ ।

सडक अवरुद्ध भएसंगै सयौं सवारी र हजारौँ यात्रुबीच बाटोमै अलपत्र परेका छन् । जाममा परेका गाडीको लाइन करिव ३–४ किलो मिटर टाढासम्म पुगेको छ ।

सरकारले उच्च जोखिममा रहेका भनिएका सडकखण्डमध्ये यो एउटा सडक खण्ड हो । सडक विस्तारका क्रममा रहेकाले यो सडकखण्डको भुइँ कालोपत्रे भएको भए पनि समय समयमा खस्ने पहिरोका कारण सडक जोखिम पूर्ण रहेको छ ।


दुई दिनयता पानी परेसँगै सो सडकमा ठाउँठाउँमा पहिरो खसेपछि सडक अवरुद्ध हुने र खुल्ने क्रम जारी रहेको छ जसका कारण यात्रु समयमा गन्तव्यमा पुग्न सकेका छैनन् ।