काठमाडौं: गृहमन्त्री रामबहादुर थापाले ठेक्का सम्झौतानाअनुसार तोकिएको समयमा काम सम्पन्न नगर्ने कम्पनी र ठेकेदारलाई कारवाही गर्न देशभरबाट विवरण संकलन गरिरहेका छन् । उनले हालै मात्र समयमा काम सम्पन्न नगर्ने ठेकेदार कम्पनीहरुलाई कारवाही गर्ने बताएका थिए । तर लामो समय देखि पटक-पटक विभिन्न बहानामा समय थप्दै आएको मेलम्ची खानेपानी आयोजनाको भने फेरि ७ महिना समय थप गरिएको छ । यति मात्र नभई ठेकेदार कम्पनीलाई क्षतिपूर्ति समेत दिने तयारी आयोजनाले गरेको छ ।

भूकम्प, नाकाबन्दीलगायत विविध कारणले समयमै काम गर्न नपाउँदा घाटा भएको दाबि गर्दै ठेकेदार कम्पनी इटालियन कोअपरेटिभ मुरातोरी एण्ड सिमेन्टिस्टी (सीएमसी)ले आयोजनासँग एक अर्ब ६५ करोड रुपैयाँ क्षतिपूर्ति दाबी गरेको छ ।


। सीएमसीले सिन्धुपाल्चोकको अम्बाथान हेडवर्क्समा डाँडो धेरै काट्नु परेको भन्दै त्यसमा मात्रै ९७ करोड क्षतिपूर्ति दाबी गरेको छ भने अन्य शीर्षकमा थप ६८ करोड गरी जम्मा १ अर्ब ६५ करोड क्षतिपूर्ति पाउनुपर्ने दावी सीएमसीको छ । सीएमसीले सन् २०१३ देखि काम सुरु गरेको थियो । तर पटक-पटक विभिन्न बहानामा काम रोक्ने र क्षतिपूर्ति माग्ने गरेको छ ।

मेलम्ची खानेपानी आयोजना र ठेकेदारबीच आउने विवाद टुंग्याउन गठित समिति डिस्प्यूट एड्जुडिकेसन बोर्ड (डीएबी)मा ठेकेदार कम्पनीको दावीबारे गत शुक्रबार छलफल भएको थियो । आयोजनाले निष्कर्ष चित्तबुझ्दो नआउने संकेत पाएपछि कानुनी लडाइँ लड्ने तयारी गरेको छ । आयोजनाले डीएबीको निष्कर्ष चित्त नबुझे ३५ दिनभित्र अदालत जान सकिने जनाएको छ ।

मेलम्ची खानेपानी आयोजना हेर्नका लागि नेपाल सरकारले छनोट गरेको परामर्शदाता कम्पनी इप्टिसाका टिम लिडर थोमस बारबिचलाई ठेकेदारको पक्ष नलिएको भन्दै पदबाट हटाइएको छ । ठेकेदारको काम अनुसार ८० दिन थप समय र २८ करोड क्षतिपूर्ति दिए पुग्ने राय थोमसले दिएका थिए । परामर्शदाताको टिम लिडरलाई हटाउनुअघि पूर्वस्वीकृति लिनुपर्ने भए पनि ठेकेदारको पक्ष नलिएको आरोपमा थोमसलाई इप्टिसाले २२ जेठमा विना स्वीकृति निलम्बन गरिदिएको थियो  ।

मेलम्ची आयोजनाको सुरुङ खन्ने काम गत चैतमा सम्पन्न भइ सकेको छ । सिन्धुपाल्चोक जिल्लाको अम्वाथान देखि काठमाडौको सुन्दरीजलसम्मको करिव २७.५ किलोमिटर लामो सुरुङमार्ग  ३ खण्डमा विभाजन गरेर निर्माण गरिएको हो । सुन्दरीजलमा दैनिक ८ करोड लिटर पानी ट्रिटमेन्ट गर्ने प्लान्ट बनिसके पनि अर्को ८ करोड लिटरको ट्रिटमेन्ट प्लान्टको काम बाँकी नै छ । मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी काठमाडौं ल्याउने योजना छ । २०१३ सेप्टेम्बरसम्म काम सक्ने गरी सन् २००९ मा सुरुङको ठेक्का लिएको चाइना रेल्वेको काममा ढिलासुस्ती भएको भन्दै सन् २०१२ मा सम्झौता तोडिएको थियो । त्यसपछि २०१३ जुलाइबाट सुरुङ निर्माणको काम इटालीको कम्पनी अपरेटिभ मुरातोरी एन्ड केमेन्टेस्टी (सीएमसी)लाई दिइए पनि कम्पनीले नोभेम्बरबाट मात्र काम थालेको थियो । ७ अर्ब ७२ करोडमा सिएमसीसँग सम्झौता भएकोमा हेडवक्र्स र फिनिसिङको महत्वपूर्ण काम बाँकी रहँदै आयोजनाले ७ अर्ब रुपैयाँ भुक्तानी गरिसकेको छ ।

समयमा काम नगर्ने ठेकेदारलाई कारबाही गर्ने बताएको सरकारले साना ठेकेदारलाई पक्राउ गर्ने र ठूला आयोजनाका ठेकेदार प्रति भने मौन रहने व्यवहार देखाएको छ । सरकारको यस्तो व्यवहारले निजी स्वार्थ अनुसार काम नगरेको भन्न सकिन्न ।

यस अघि सरकारले आगामी असोजदेखि उपत्यकावासीलाई मेलम्ची खाने पानी वितरण गर्ने बताए पनि समय थप गरिए पछि उपत्यकावासी निरास हुनुपरेको छ ।

मयाङ्क घिमिरे