काठमाडौं: २०१६ मा पहिलो पटक सार्वजनिक भएको पनामा पेपरमा विश्वका चर्चित खेलाडी देखि विभिन्न राष्ट्रका प्रमुख समेत कर छलीमा मुछिएका थिए । पनामा पेपरले गरेको खुलासले शीर्ष खेलाडी लियोनेल मेस्सी देखि पाकिस्तानको प्रधानमन्त्री नवाज सरीफ समेत कारवाहीमा परेका थिए ।  ८० ओटा देशमा विश्लेषण गरिएको पनामा पेपर्समा विश्वका धेरै व्यापारी, उद्योगपति र राजनीतिक व्यक्तिहरुले भ्रष्टाचार गरेर अकुत सम्पत्ति कमाएर पछि त्यसलाई वैध बनाउन कस्ता हथकण्डा प्रयोग गर्छन् भन्ने कुरा खुलासा भएको छ । पनामा पेपर्सले विश्वका चर्चित व्यक्तिहरुले अवैध सम्पत्ति लुकाउन र कर छल्न कसरी सुरक्षित स्थान (ट्याक्स हेभन) रोजेका छन् भन्ने खुलाउँदै आएको छ ।


पहिलो पनामा पेपर सार्वजनिक भएको झन्डै दूई वर्ष पछि खोज-पत्रकारहरुको अन्तर्राष्ट्रिय समूह कन्सोर्टियम अफ इन्भेष्टिगेटिभ जर्नालिस्ट (आईसीआईजे)ले अवैध धन लुकाउनेहरुको विवरण समेटिएको पनामा पेपर्सको दोश्रो विवरण बुधबार राति सार्वजनिक गरेको छ ।

मोसेक फोन्सेका नामको बिचौलिया ल फर्मबाट आईसीआईजेले पाएको विवरणअनुसार चर्चित फुटबल खेलाडी लियोनेल मेस्सी, अर्जेन्टिनाका राष्ट्रपति मउरिसियो मार्सी र कुवेतका उच्चपदस्थ अधिकारीलगायत अवैध सम्पत्ति सञ्चय र करछली प्रकरणमा जोडिएका छन् ।

‘पनामा पेपर्स-२’ काअनुसार मेस्सी र उनका पिताले ‘मेघा स्टार इन्टरप्राइजेज’ नामक अफशोर कम्पनीमार्फत कारोबार गरेर कर छलेको भेटिएको छ । मेस्सीको नाम पहिलो पनामा पेपर्समा पनि थियो । तर, उनले यो कम्पनी ‘पूरै निष्क्रिय’ रहेको दाबी गरेका थिए । तर, कम्पनी सक्रिय राखेर करछली भइरहेको भेटिएको छ । पहिलो पनामा पेपर सार्वजनिक भए पछि बार्सिलोनाका खेलाडी मेस्सी र उनका बुवामाथि स्पेनमा कर छलीको मुद्दा लागेको थियो जसमा उनलाई स्पेनिस अदालतले २१ महिना जेल सजाय र २२ लाख अमेरिकी डलर जरिवाना तोकेको थियो । तर, पहिलो पटक २ वर्षभन्दा कम सजाय पाउँदा जेल बस्नु नपर्ने स्पेनिस कानुन अनुसार मेस्सी जेल बस्नु परेको थिएन ।

पनामा पेपर्स–२ खुलासामा अर्जेन्टिनाका राष्ट्रपति मउरिसियो म्यार्की कर छलीमा फेरि मुछिएका छन्। आफ्नो स्वामित्वमा रहेको बाहमासस्थित ‘फ्लेग ट्रेडिङ कम्पनी’ स्थापना भएको मिति परिवर्तन गरेर म्यार्की चोखिन खोजेका थिए। यो कुरा, पनामास्थित मोसेक फोन्सेकाको केन्द्रीय कार्यालय र उरुग्वेस्थित शाखा बिचमा सन् २०१६ को सेप्टेम्बर र अक्टोबरमा भएको इमेल कुराकानीले पुष्टि गरेको आइसीआइजेले जनाएको छ। बाहमासमा रहेको ‘फ्लेग ट्रेडिङ्ग कम्पनी’ र पनामाको मोसेक फोन्सेकाबिच सम्बन्ध भएको तथ्य लुकाउन पहिल्यैको मिति राखेर कागजात बनाउने मोसेक फोन्सेका कम्पनीका कर्मचारीले प्रयास गरेका थिए।

कर छली लुकाउन फोन्सेकाका लेखापालले सन् २०१६ मा एउटा हस्तलिखित कागजात तयार पार्न खोजेका थिए, जसमा कम्पनी स्थापना भएको वास्तविक मिति परिवर्तन गरेर अर्को मिति लेख्ने प्रयास गरिएको थियो। तर लेखापालले मिति परिवर्तन गर्नु ‘एकदमै जोखिमपूर्ण’ हुने र कुनै पनि क्यालीग्राफर (कलात्मक हस्तलेखन गर्ने व्यक्ति) ले पत्ता लगाउन सक्ने जोखिम ठानेर पछि हटेका थिए। उनीहरु बिचको यो असफल प्रयासको कुराकानी इमेलबाटै खुलेको छ। “ती लेखापालले जोखिम लिन चाहेनन्” इमेलमा भनिएको छ, “किनकि त्यहाँ अर्जेन्टिनाका राष्ट्रपति जोडिएका थिए।”

पनामा पेपर्स–२ ले अवैध रुपमा अर्बौं रकम लुकाएको र कर छली गरेको भनेर मलेसिया, कुवेत र रूसका राजनीतिज्ञको नाम समेत सार्वजनिक गरेको छ। विवरणअनुसार, मलेसियाका पूर्व प्रधानमन्त्री नजिब रजाकका भाई मोहम्मद निजाम विन अब्दुल रजाकले ब्रिटिस भर्जिन आइल्याण्डस्मा कम्पनी दर्ता गरेका थिए। इभर ब्राइट यूनिभर्सल होल्डिङस् लिमिटेड कम्पनीको नाममा अमेरिकामा समेत उनको केहि सम्पत्ति छ । २०१७ मे महिनामा भएको संसदीय निर्वाचनबाट सत्ताच्यूत भएका रजाकले आफ्नो कार्यकालमा राज्यको लगानी कोषबाट अर्बौ डलर हिनामिना गरेका थिए। आइसीआइजेले लेखेको छ “रजाकको बैंक खातामा १६ लाख अमेरिकी डलर ट्रान्सफर भएको छ।” तर पूर्व प्रधानमन्त्री रजाकले भने यो आरोपलाई अस्वीकार गर्दै आएका छन्। तर, पनामा पेपर्सले रजाकका छोरा मोह्द नजिफुद्दिन बिन मोह्द नजिबको नाममा दुई वटा अफशोर कम्पनी दर्ता भएको खुलासा गरेको छ।

आइसीआइजेले हात पारेका नयाँ कागजात अनुसार, मोसेका फोन्सेकाले दर्ता गरेको एउटा कम्पनीको स्वामित्व कुवेतको सामाजिक सुरक्षा प्रणाली हेर्न एजेन्सीका पूर्व प्रमुख फहदअल–रजानको रहेको छ। रजानले हुँदै नभएको व्यक्तिको नाममा ३९ करोड अमेरिकी डलर अपचलन गरेका थिए। रजानको स्वामित्व टावनी रियल इस्टेट्स लिमिटेडमा छ।

रूसका धनाड्य व्यापारी तथा राजनीतिकर्मी विटाली मल्किनले पनि स्रोत नखुलेको अर्बौं डलर विदेशमा लगानी गरेको भेटिएको छ। विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यहरुलाई उद्धृत गर्दै आईसीआइजेले लेखेको छ, “मल्किन अउड्रे होल्डिङ्गस् ग्रुप लिमिटेड र टप मेट्रिक्स होल्डिङ्गस् लिमिटेड नाममा दुई ब्रिटिस भर्जिन आइल्याण्डस् कम्पनीका मालिकका रुपमा देखा परेका छन्।” अउड्रे होल्डिङ्गस् ग्रुप लिमिटेडका नाममा स्वीस बैंकको अकाउन्टमा २० करोड अमेरिकन डलर (करिब २२ अर्ब रुपैयाँ) रहेको देखिएको छ।

काजकस्थानका राष्ट्रपति नरसुल्तान नजरबयभकी छोरी डरिगा नजरबयभ पनि ब्रिटिस भर्जिन आइल्याण्डस्को कम्पनीकी लगानीकर्ता देखिएकी छिन्।

विश्वका चर्चित राजनीतिककर्मी, सेलिब्रेटी, अपराधी लगायतको नाम पनि पनामा पेपर्स–२ ले सार्वजनिक गरेको छ। पनामामा मुख्य कार्यालय रहेको मोसेक फोन्सेका नामको बिचौलिया कम्पनीले दर्ता गराइदिएका हजारौ सक्रिय कम्पनी अवैध सम्पत्ति लुकाउने र कर छलीको विवादमा तानिएका छन्।