सप्तरीः सप्तरी कंचनरुप नगरपालिका–८ स्थित पूर्व पश्चिम राजमार्गमा आज दिउँसो मोटरसाइकलले साइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ ।

दुर्घटनामा साइकल चालक मोरङ उर्लाबारी नगरपालिका निवासी ५५ वर्षीय केदार श्रेष्ठ र मोटरसाइकल चालक सप्तरीको सप्तकोशी नगरपालिका ७ निवासी मुकेश सिंहको मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको स १० प ९१३१ नम्बरको मोटरसाइकलले साइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका श्रेष्ठको विराटनगरमा र मोटरसाइकल चालक सिंहको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ ।


उक्त दुर्घटनामा मोटरसाइकलको पछाडि चढेका सप्तकोशी नगरपालिका–७ का २५ वर्षीय अनिलकुमार यादव घाइते भएका छन् । उनको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।


प्रकाशित मितिः २०७७ साल कार्तिक १० सोमबार, १८:१७