काठमाडौंः महानगरीय ट्राफिक प्रहरी महाशाखाले मोटरसाइकल चोरी गर्ने २ जनालाई मोटरसाइकलसहित पक्राउ गरेको छ ।

पीडित सहायता इकाइबाट सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले नयाँबजार स्थित सडक खण्डबाट आयुष थापा मगर र बालाजु स्थित सडक खण्डबाट रोशन लामिछाने चढि रहेको मोटरसाइकलसहित आइतबार पक्राउ गरेको जानकारी ट्राफिक महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले दिए ।

नयाँबजार सडकखण्डबाट जिल्ला धादिङ्गको त्रिपुरासून्दरी गाउँपालिका–५ चैनपुर बस्ने २२ वर्षीय थापा मगरलाई प्रदेश ३–०२–००८ प २६०७ नम्वरको मोटरसाइकलसहित पक्राउ गरिएको हो । अनुसन्धानको क्रममा उक्त मोटरसाइकलको वास्तविक नं.लु ५२ प ७३३५ खुल्न आएको छ ।


उक्त नम्बरको मोटरसाइकल २०७६ भदौ ६ गते काठमाडौं ठमेलस्थित भगवानबाहाल मन्दिर अगाडि पार्किङ्ग स्थलबाट हराएको हुँदा खोज तलास गरि पाउँ भनि कुमार राना मगरले निवेदन यस महाशाखामा दिएको आधारमा मोटरसाइकल र थापा मगरलाई पक्राउ गरी आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी वृत्त, लैनचौर पठाईएको महाशाखाले जनाएको छ ।

त्यस्तै, काठमाडौं बालाजु सडकखण्डबाट दोलखाको भिमेश्‍वर नगरपालिका–३ भिमफेदी घर भई हाल काठमाडौं रानिवन बस्ने २४ वर्षीय लामिछानेलाई बागमती प्रदेश ०२–०१७ प ३४४७ नम्बरको मोटरसाइकलसहित पक्राउ
गरिएको हो ।

उक्त नम्ब्रको मोटरसाइकल २०७७ मंसिर १४ गते काठमाडौं बनस्थलीबाट हराएकोले खोज तलास गरि पाउँ भनि राम कृष्ण ढकालले हुलिया सहितको निवेदन यस महाशाखामा दिएको आधारमा मोटरसाइकल र लामिछाने पक्राउ गरी आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी वृत्त, बालाजु पठाईएको छ ।

महाशाखाले यस पौष महिनामा मात्रै ४१ वटा मोटरसाइकल अनुसन्धानको लागि ल्याएको छ भने चोरीमा संलग्न ११ जना व्यक्तिहरुलाई पक्राउ गरी मुद्दा समेत चलाईसकेको छ ।


प्रकाशित मितिः २०७७ साल पुस २० गते सोमबार, २०:५८