मोदीको नेपाल भ्रमणः केही प्रश्न केही अपेक्षा







भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भोलि वैशाख २८ गते नेपालको राजकीय भ्रमणमा आउने भएका छन् । उनी विहारको पटना हुँदै नेपालको जनकपुर आउनेछन् । उनले जनकपुरको जानकी मन्दिरमा विशेष विधानसहित पूजा गर्नेछन् । त्यसपछि जनकपुरमा उनकोे नागरिक अभिनन्दन गरिने कार्यक्रम राखिएको छ । त्यसपछि काठमाडौं आउने र उनी मुस्ताङ जिल्लामा पर्ने मुक्तिनाथसमेत भ्रमण गर्ने कार्यक्रम राखिएको छ । भारतीय प्रधानमन्त्रीको जनकपुर मात्रै होइन काठमाडौंमा काठमाडौं महानगरपालिकाले पनि अधिनन्दनसमेत गर्ने कार्यक्रम राखिएको छ ।

नेपालमा भारतीय प्रधानमन्त्री मोदीका बारेमा विगतमा भएको नाकाबन्दी,


अभिनन्दन, भारतले पहिले जनाएका प्रतिबद्धता, नेपाल–भारत सीमा विवादका विषयलाई लिएर विरोध र स्वागतका आवाज उठिरहेका छन् ।

छिमेकी तथा नेपालका लागि विशेष महत्व राख्ने राष्ट्र भारतका प्रधानमन्त्रीको भ्रमणलाई नेपालले विशेष महत्व त दिने नै भयो त्यसमा कसैको विमति छैन तर यो भ्रमणका केही पक्षलाई हेरेर आमनागरिकले प्रशस्त प्रश्नहरू पनि उठाएका छन् । सबैभन्दा पहिले प्रधानमन्त्री मोदीको अभिनन्दनलाई लिएर प्रश्न उठेका छन् । भारतले आफ्नो देशको विकास गर्दै शक्तिशाली राष्ट्रको कोटीमा पर्न प्रयास गरेको छ । नेपालको विभिन्न क्षेत्रमा सहयोग पनि गरेको छ । भारत नेपालको विकास साझेदार राष्ट्र त हो नै तर २०७२ वैशाखमा गएको भूकम्पको अपूरणीय क्षति व्यहोरिरहेका बेला भारतले ६ महिनासम्म नेपालमा नाकाबन्दी गरयो । यसको कारण नेपालको संविधानको असन्तुष्टि रहेको बताइयो । अहिलेसम्म यी दुवै विषयमा भारतले कुनै पनि महसुस गरेको पाइएको छैन, यस्तो अवस्थामा नेपालमा दुई–दुई स्थानमा नागरिक अभिनन्दन गर्नु आवश्यक छैन भन्ने आमनागरिकले प्रश्न उठाएका छन् । अति नजिकको छिमेकी भारतसँग सम्बन्ध सुमधुर हुनैपर्छ । यसका लागि नेपाल र भारतबीच रहेका यावत् अप्ठ्यारा हटाउनुपर्छ ।

अर्को, आम नागरिकले असहज महसुस गरेको विषय हो सुरक्षाको । नेपालमा विगतमा पनि विदेशी पाहुनाहरूका यस्ता उच्चस्तरीय भ्रमण भएका छन् । त्यसको सुरक्षाको कुशल व्यवस्थापन नेपालको एकीकृत सुरक्षा संयन्त्रले गर्दै आएको छ । नेपालमा धेरै पटक सार्क सम्मेलनसमेत भएका छन् ती सबै अवस्थाको नेपालको सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानसमेतको एकीकृत विशेष सुरक्षा संयन्त्रले कुशल व्यवस्थापन गर्दै आएको छ । यसमा कतैबाट प्रश्न उठाउने अवस्था आएन । अहिले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सुरक्षाका लागि भारतबाटै हतियारसहित ठूलो संख्याका सुरक्षाकर्मी खटिने बताइएको छ । भारतीय सुरक्षाकर्मी यति नै आउने भन्ने कुरा यकिन छैन । विशेष स्रोतका अनुसार भारतबाट नेसनल सेक्युरिटी गार्ड (एनएसजी) र अर्को स्पेसल एक्सन ग्रुप (एसएजी) जसलाई ब्लेक क्याट पनि भनिन्छ जस्ता हतियारसहितका सुरक्षा संयन्त्रले मोदीको पहिलो र दास्रो घेराको सुरक्षा दिने कार्यक्रम छ । त्यसपछिको सुरक्षा घेरा मात्र नेपाली सुरक्षाकर्मीको रहने बताइएको छ । यो भ्रमणका लागि ठूलो संख्यामा भारतीय गुप्तचर खुफियाका कर्मचारी परिचालन हुने पनि बताइएको छ ।

सुरक्षाको विषयलाई लिएर प्रश्न उठेको छ– मोदीको भ्रमणको क्रममा कुनै खाले असहज अवस्था सिर्जना भएमा सुरक्षाको जिम्मेवारी कसले लिने रु भारतीय सुरक्षाकर्मीले कि नेपालको सरक्षाकर्मीले रु अर्को, नेपालको भूगोल, समाज र संवेदनशीलताका बारेमा नेपालको सुरक्षा संयन्त्र पूर्ण जानकार छ तर भारतीय सुरक्षा संयन्त्र त हुन सक्दैन । नेपाल सार्वभौम राष्ट्र हो । देशभित्र आफ्ना अतिथिको सुरक्षा नेपालले दिन सक्षम छ । यसलाई बेवास्ता गरेर ठूलो संख्यामा हतियारसहित विदेशी सुरक्षाकर्मी परिचालन हुनु सार्वभौम जनताका लागि सामान्य हुन सक्दैन । यद्यपि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सुरक्षा चुनौती अत्यन्तै गम्भीर छ । उनको सुरक्षामा नेपाल सरकार गम्भीर हुनुपर्छ र छ पनि तर त्यी सुरक्षाका लागि भारतीय सुरक्षाकर्मी अग्रस्थानमा रहनु राम्रो होइन । नेपालको सुक्षा संयन्त्र सक्षम भएकाले उसकै नेतृत्वमा सुरक्षा व्यवस्था गरिनुपथ्र्यो । भारतीय सुरक्षाकर्मीको ओभरल्याप हुनु आमनागरिकले असहज महसुस गरेको देखिएको छ ।

अर्को, भारतीय प्रधानमन्त्री नेपाल आएका बेला अरुण तेस्रो लजविद्युत् आयोजनाको स्वीच थिचेर शिलान्यास गर्ने कार्यक्रम छ । अरुण तेस्रो आयोजनाको निर्माणको जिम्मा भारतीय ऊर्जा उत्पादन कम्पनी सतलजले पाएको छ । उसले लगानीका विभिन्न स्रोतको व्यवस्था गरे पनि अझ ठूलो मात्राको पुँजी जुटाउन समय लिएको छ । यस्तो अवस्थामा अहिले नै स्वीच थिचेर शिलान्यास गर्नु आवश्यक थिएन । निर्माणको तयारी अवस्थामा शिलान्यास गरेको भए के हुन्थ्यो ?

भारतीय प्राधनमन्त्रीको नेपाल भ्रमणका केही अवस्था र परिवेशका बारेमा आमनागरिकबाट प्रश्न त उठे तर उनको नेपाल भ्रमण अत्यन्तै महत्वपूर्ण रहेको कुरामा पनि अनेपाली नागरिकमा कुनै भ्रम छैन । नेपाल र भारत अत्यन्तै नजिकका र धर्म, संस्कृति तथा समाज सबै जोडिएका छिमेकी हुन् । अर्को, आर्थिक रुपमा पनि नेपाल र भारत जोडिएका छन् । नेपालको ६२ प्रतिशत व्यापार भारतसँग हुन्छ । हुन त भारतबाट आयात धेरै ठूलो छ र नेपालबाट भारततिर हुने निर्यात अत्यन्तै कम छ । चालु आर्थिक वर्ष नौ महिनाको अवधिमा भारतबाट ५ खर्बभन्दा बढीको आयात भएको छ नेपालबाट ४२ अर्बको मात्र निर्यात भएको छ । यस्तो अवस्था रहे पनि नेपाल र भारतको सम्बन्ध सुमधुर रहनुपर्छ र नेपाल–भारतबीच हार्दिक वार्ता भइरहनुपर्छ । यस्ता विषयमा बहस, विश्लेषण, छलफल गरेर नेपालले भोगेको समस्या हटाउन पहल गर्नुपर्छ । अर्को, नेपाल–भारतबीच कतिपय स्थानमा सीमा विवाद पनि छन् तिनको समाधान यही सद्भावपूर्ण सम्बन्ध र त्यसको समाधानका लागि सार्थक वार्ता नै आवश्यक छ ।

मोदीको नेपाल भ्रमण धार्मिक रुपमा पनि महत्वपूर्ण छ । नेपाल र भारतमा भएका तीर्थस्थल दुवै देशका साझाजस्तै अवस्थामा छन् । ती क्षेत्रको भ्रमण, तिनको गरिमा बढाउने काम दुवै देशका शासक–प्रशासकदेखि आमनागरिकले गर्दै आएका छन् । मोदीको भ्रमणले जानकी जन्मस्थल र मुक्तिनाथजस्ता अत्यन्तै महत्वपूर्ण धार्मिक स्थलको गरिमा बढ्छ नै । नेपालमा धर्मान्तरण भइरहेका बेला उच्चस्तरीय भ्रमण र उच्च चासो हुनु सामान्य होइन ।

नेपालको वाम गठबन्धन सरकारले विकासलाई विशेष प्राथमिकता दिएको अवस्थामा भारतीय प्रधानमन्त्रीको भ्रमण सम्बन्ध सुधारमा मात्र केन्द्रित नभएर नेपालका विविध क्षेत्रमा सहयोग प्रतिबद्धता पनि आउन सक्छ । नेपालका अनेकौं व्यापारिक अप्ठ्यारा हटाउने अवसर पनि हुनेछ । अर्को, भारतीय प्रधानमन्त्रीले थप आश्वासन मात्र नभएर पहिले प्रतिबद्धता जनाएका आयोजना तथा सहयोग प्राप्त भए नेपालका लागि धेरै ठूलो उपलब्धि हुनेछ ।




ताजा समाचार


विशेष समाचार