नगरकोटः नेकपा (माओवादी केन्द्र)का प्रवक्ता पम्फा भुसालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका कारण एमाले र माआवादी बीचको पार्टी एकीकरण प्रक्रियामा ढिलाइ भएको बताएकी छन् ।

रफत सञ्चार क्लबमा आयोजित साक्षात्कार कार्यक्रममा प्रवक्ता भुसालले भारतीय प्रधानमन्त्री मोदीको स्वागतका लागि प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको कार्यव्यस्तताका कारण दुई पार्टीको एकीकरण प्रक्रियामा ढिलाइ भएको बताएकी हुन् ।

पार्टी एकीकरणका विषयमा आपसी गृहकार्य भइरहेको र बाहिर आएजस्तो एमालेमा माओवादी र माओवादीमा एमाले विलय नभई सम्मानजनक ढंगले दुई पार्टी एकीकरण हुने बताउँदै उनले पार्टी एकता संयोजन समितिले एकीकरणका लागि आवश्यक तयारी गरिरहेको बताइन् ।


अहिले नै सरकारका गतिविधिको समीक्षा गर्ने बेला नभइसकेको भन्दै प्रवक्ता भुसालले सरकारले निर्वाचनको समयमा जनतामाझ लिएर गरेका एजेण्डाअनुसार काम अघि बढाएको बताएकी छन् ।

सरकारले तोकिएकै समयमा बजेट ल्याइसक्ने बताउँदै उनले उक्त बजेट जनमुखी र आर्थिक समृद्धिको खाका भएको बताइन् । कार्यक्रममा प्रवक्ता भुसालले विगतमा जस्तै नभई यो सरकारले कूटनीतिक पाटोलाई देश र समयानुकूल बनाउँदै गएको बताएकी छन्।

यसअघि नेकपा एमाले र माओवादी केन्द्रका नेताहरुले प्रधानमन्त्री ओलीको भारत भ्रमण अगावै, लेनिल जयन्तीको दिन पार्टी एकता गर्ने भन्दै आएका थिए तर आजसम्म पनि एकताले मुर्ता रुप लिन सकेको छैन भने विवादित विषयमा पनि सहमती जुट्न सकेको छैन ।