काठमाडौँ: काठमाडौँ महानगरपालिकाले चक्रपथमा मोनो रेल सञ्चालन सम्भाव्यता अध्ययन गर्न चीनको चाइना रेल वे २५ औँ ब्यूरो ग्रुप कम्पनीलाई जिम्मा दिएको छ ।

कामपाले आज यहाँ आयोजना गरेको कार्यक्रममा महानगरका प्रमुख विद्यासुन्दर शाक्य र रेल वेका महाप्रबन्धक ली होङ्गकीले अध्ययनसम्बन्धी सहमति पत्रमा हस्ताक्षर गर्नुभएपछि अध्ययनको काम रेल वेलाई दिइएको हो ।

महानगरका प्रमुख विद्यासुन्दर शाक्यले आफ्नै कार्यकालमा मोनोे रेल सञ्चालन गर्ने प्रतिबद्धता दोहोर्याउनु भयो । उहाँले भन्नुयो, “मोनो रेल चलाउँछौँ भनेकै एक वर्ष भइसक्यो, विधि मिलेपछि काम गर्ने बाटो खुल्छ, काम थालनी भएपछि रेल सञ्चालन हुन समय लाग्दैन, हामी त्यही दिशामा लक्षित छौँ ।


।”

सोही अवसरमा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले आफू महानगरवासीलाई सरल जीवनयापन गर्ने सुविधाको, सुन्दर उपहार दिन लागिरहेको बताउनुभयो ।

सार्वजनिक निजी साझेदारी एकाईका प्रमुख, महेश काफ्लेले मोनो रेल निर्माण, व्यवस्थापन तथा सञ्चालन कार्यले काठमाडौँसँगै ललितपुर महानगरको समृद्धिसँग पनि उत्तिकै सम्बन्ध राख्ने बताउनुभयो ।

सम्झौता पत्रमा हस्ताक्षर गरिसकेपछि आफू काठमाडौँको शहरी यातायात व्यवस्थापनमा थप जिम्मेबार भएको बताउँदै कम्पनीका महाप्रबन्धक होङ्गकीले तोकेको समयमा काम सम्पन्न गर्न आफू प्रतिबद्ध रहेको जनाउनुभयो । सम्झौताअनुसार, पहिलो महिना अध्ययन आधार तयार गरेर थालनी हुने सम्भाव्यता अध्ययनको अन्तिम प्रतिवेदन ६ महिनामा पेश गरिनुपर्नेछ ।

महानगरले मोनोरेल सञ्चालनसम्बन्धी प्रकाशन गरेको आशय पत्रमा रेल वेले गत वैशाख २० गते महानगरमा इच्छापत्र बुझाएको थियो । यसको आधारमा महानगरको वैशाख २४ गतेको प्रमुख स्तरीय निर्णयबाट आज रेल वे कम्पनीसँग सम्झौता गरको हो । यस सम्झौताअनुसार रेल वे कम्पनीले चक्रपथमा मोनो रेल चलाउन आर्थिक, प्राविधिक तथा दिगोपना जस्ता पक्षमा अध्ययन गर्ने तथा प्राप्त सम्भावनाका उपयुक्त विकल्पहरू सिफारिश गर्नेछ ।  रासस