मोरङः मोरङको विराटनगर महानगरपालिका–१४ झट्याई बस्ने राजेश तत्माको घरमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

शनिबार राति साढे १२ बजेको समयमा तत्माको बाँसको टाटीको गाह्रो र टिनको छाना भएको एक तले कच्ची घरमा अचानक आगलागी हुँदा राजेश तत्माको १४ वर्षीय छोरा रविन दाश तत्माको जलेर मृत्यु भएको हो ।

उक्त आगलागीमा परी उनको श्रीमती ३२ वर्षीया ईन्दु देवी तत्मा र उनकै छोरा ७ वर्षीय किशन कुमार तत्मा घाइते भएका छन् ।

घाइतेको दुबै जनाको कोशी अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

सो आगलागीमा परी उनको घर भित्र रहेको खाद्यान्न, लत्ता कपडा लगाएत सम्पुर्ण सामान जल्दा अन्दाजी ४ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।


उक्त आगलागी विराटनगर महानगरपालिकाको दमकल, प्रहरी र स्थानीयवासीको सहयोगमा नियन्त्रणमा आएको थियो ।


प्रकाशित मितिः २०७७ साल पुस ५ गते आइतबार, १६:२४