काठमाडौंः मोरङ र सिराहाबाट अवैध लागूऔषध सहित १० जनालाई प्रहरीले पक्राउ गरेको छ ।

मोरङको उर्लाबारी नगरपालिका–७ बाट ४ ग्राम ७ सय २७ मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर, १ सय ८४ ग्राम २ सय ३० मिलिग्राम अवैध लागूऔषध गाँजा र ५ थान मोटरसाइकल सहित ९ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा उर्लाबारी नगरपालिका–७ स्कुलडाँडा बस्ने २१ वर्षीया ममता तामाङ, सोही नगरपालिका–७ बरगाछी बस्ने २४ वर्षीय मिलन याक्सो, सोही नगरपालिका–९ भोटेपुल बस्ने २८ वर्षीय आकास लिम्वु, सोही नगरपालिका–७ बरगाछी टोल बस्ने १९ वर्षीय असिम लिम्बु, झापा दमक नगरपालिका–७ बजार लाईन बस्ने १९ वर्षीय ससिन सेख, सोही नगरपालिका–४ सिर्जना टोल बस्ने ३० वर्षीय सुमन सुनुवार, मोरङ रतुवामाई नगरपालिका–८ इटहरा बस्ने २२ वर्षीय रुमपमान केदेम (लिम्वु), सोही नगरपालिका–१० सातमेडी बस्ने १९ वर्षीय एन्जील मगर र रतुवामाई नगरपालिका–९ इटहरा बस्ने २५ वर्षीय मन्जील बस्नेत रहेका छन् ।


लागूऔषध विक्री तथा सेवन गरिरहेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी उनीहरुलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

यस्तै, सिराहाको वरियारपट्टी गाउँपालिका–१ वडहरीबाट ३ किलो २ सय ५० ग्राम अवैध लागूऔषध गाँजा सहित सोही गाउँपालिका–५ जिझौल बस्ने २७ वर्षीय पृथ्बी नारायण यादवलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

नेपालबाट भारततर्फ पैदल जाँदै गरेका उनलाई प्रहरी चौकी कचनारीबाट खटिएको प्रहरीले जाँच गर्दा उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


प्रकाशित मितिः २०७७ साल मंसिर ३ बुधबार, १७:०४