काठमाडौंः २०७२ असोज २७ गते नेपाल प्रहरीले नेपालका पाँच राष्ट्रिय फुटबल खेलाडीलाई म्याच फिक्सिंग गरेको आरोपमा पक्राउ गरेको थियो । सन् २०११ को विश्वकप फुटबल छनोटमा म्याच फिक्सिंग भएको आरोपमा प्रहरीले तत्कालीन कप्तान सागर थापा सहित सन्दिप राई, रितेश थापा, विकास सिंह क्षत्री र प्रशिक्षक अन्जन केसीलाई प्रकाउ गरेको थियो ।

प्रहरीले अनुसन्धानको क्रममा खेलाडीहरुले फिक्सिंग भएको स्विकारेपछि विशेष अदालतमा थप अनुसन्धानका लागि २० दिनको म्याद थप्न आग्रह गरे पनि अदालतले १७ दिनको म्याद थप गरेको  थियो । विशेष अदालतले पक्राउ परेको मिति २७ असोजदेखि लागू हुने गरी १७ दिनको म्याद थप गरेको थियो ।


खेलाडीहरू पक्राउ परेलगत्तै भावुक हुँदै अन्जानमा गल्ती गरेको र अहिले आफूहरूलाई पश्चाताप भइरहेको बताएका थिए । प्रहरीको हिरासतमा रहदाँसम्म म्याच फिक्सिंग स्विकारेका खेलाडीहरुले अदालतमा भने आफ्नो बयान फेरेका थिए ।

म्याद थप गर्न प्रहरीले विशेष अदालत पुरयाएका खेलाडीहरुले सञ्चारकर्मीहरूसँग कुराकानी गर्दा आफ्नो बयान फेरेका थिए । राष्ट्रिय टोलीका निलम्बित कप्तान सागर थापाले आफुहरु निर्दोष भएको बताएका  थिए । अनुसन्धानका क्रममा आफूहरूमाथि लागेको आरोप उनीहरूले स्वीकार गरेको तत्कालीन महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक सर्वेन्द्र खनालले जानकारी दिएका थिए ।

तत्कालिन वरिष्ठ प्रहरी उपरीक्षक सर्वेन्द्र खनालको भनाई (Audio)

यसैगरि सागरसहितका खेलाडीहरु १० वर्षदेखि म्याच फिक्सिङमा संलग्न रहेको स्पोर्टर्‍याडरको अनुसन्धानले समेत  पुष्टी  गरेको थियो । स्पोर्टर्‍याडरले जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘सागर थापा र अन्य प्रतिवादीहरुमाथिको अनुसन्धान एउटा बृहद र वस्तुगत प्रक्रिया थियो, जुन पूरा हुन एक वर्ष लाग्यो । यसमा एएफसी (एसियाली फुटबल महासंघ), नेपालको महानगरीय अपराध शाखा, यूर्इएफए (यूनियन अफ यूरोपियन फुटबल एसोसिएसन) र स्पोर्टर्‍याडर सेक्युरिटी सर्भिसेज टिमको समन्वय रहेको थियो । सोही अनुसन्धानबाट ती खेलाडी तथा प्रशिक्षकहरुले विगत १० वर्षयता थुप्रै फुटबल खेलहरुको नतिजा प्रभावित बनाउन भूमिका खेलेको देखिएपछि उनीहरुलाई आजीवन फुटबलमा प्रतिबन्ध लगाइएको हो । ‘स्पोर्टर्‍याडर एउटा अन्तर्राष्ट्रिय संस्था हो, जसले विश्वव्यापीरुपमा खेलकुदका तथ्यांंक विश्लेषण, सूचना संकलन तथा खोज–अनुसन्धान गर्दछ । एफएफसी र फिफाले टेक्निकल पार्टनरका रुपमा स्पोर्टर्‍याडरको सहयोग लिँदै आएका छन् । विश्वका ८० देशका आठ सय कम्पनीहरुले आफूसित सहकार्य गरिरहेको संस्थाको वेबसाइटमा उल्लेख छ ।

उनीहरूले सन् २००८ मा भएको मर्डेका कपमा अफगानिस्तानसँग २–२ गोलको बराबरी खेल्ने सर्तमा प्रतिखेलाडीले ५ हजार अमेरिकी डलर, सन् २००९ को साफ च्याम्पियनसीपमा जम्मा तीन हजार ६१ अमेरिकी डलर लिई दामासाहीले बाँडेको, सन् २०११ मा मलेसियासँगको मैत्रीपूर्ण खेलमा २–० ले खेल हार्ने सर्तमा प्रतिखेलाडी पाँच हजार अमेरिकी डलर लिएको प्रहरी अनुसन्धानका क्रममा खुलेको जनाइएको थियो ।

सन् २०११ मा फिलिपिन्ससँग भएको मैत्रीपूर्ण खेलमा प्रति खेलाडी पाँच हजार डलर, सन् २०१२ मा भारतमा भएको नेहरू कप अन्तर्गत क्यामरुनसँग ४–० ले हार्ने सर्तमा प्रतिखेलाडी ५ हजार डलर लिने गरी सर्त भएकोमा खेलको अन्ततिर गोलकिपर रितेश थापाको ठाउँमा खेलाडी परिवर्तन हुँदा ५–० गोलले हारेकोमा रकम नपाएको लगायतका तथ्य खुल्न आएको प्रहरीले जनाएको थियो । खेल मिलेमतो गरेवापत सिङ्गापुरका नागरिक टिटानी पेरियासामी र केशभन पत्तनसलगायत एजेन्टबाट मनी ट्रान्सफरमार्फत रकम लिने गरेको अनुसन्धानका क्रममा खुल्न आएको प्रहरीले जनाएको थियो ।

विशेष अदालतका अध्यक्ष न्यायाधीश बाबुराम रेग्मी र सदस्यद्वय प्रमोदकुमार श्रेष्ठ वैद्य र नारायणप्रसाद पोखरेलको इजलासले अन्जन केसी, पूर्व गोलकिपर रितेश थापा र विकाससिंह क्षत्री, फिजियोथेरापिस्ट डेजिब थापा पूर्वकप्तान सागर थापा र उपकप्तान सन्दिप राईलाई सफाइ दिने फैसला गरेको विशेष अदालतले जानकारी दियो।

नेपालको अदालतले सफाइ दिए पनि एएफसीले भने यी खेलाडीहरुलाई आजीवन प्रतिबन्ध लगाउने निर्णय गरिसकेको छ। यो निर्णयविरुद्ध यी खेलाडीहरुले गरेको अपिलसमेत सन् २०१६ मा खारेज भइसकेपछि उनीहरुको प्रतिबन्ध कायमै रहेको छ ।

यसरी राष्ट्रिय स्वाभिमानको नै अपमान हुने कार्यमा संलग्न भएकाहरुलाई विशेष अदालतले सफाइ दिँदा, फेरि पनि यस्ता घटनाहरुमा संलग्न हुन खेलाडीहरुलाई प्रोत्साहन नहोला भन्न सकिन्न । दोषीमाथि कडा कारबाही नहुँदासम्म यस्ता राज्यविरुद्धका आपराधिक कार्यलाई न्यूनीकरण गर्न अझै कठिन हुने एक फुटबल प्रेमीले बताएका छन् ।