
काठमाडौंः प्रिमियर लिग क्लब म्यान्चेष्टर सिटी च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन पीएसजीलाई दोस्रो लेगको खेलमा २–० ले हराउँदै समग्रमा ४–१ को नतिजासहित सिटी पहिलो पटक च्याम्पियन्स लिग फुटबलको फाईनल प्रवेश गरेको हो । पहिलो लेगमा सिटीले २–१ को अग्रता लिएको थियो ।
मंगलबार राति भएको दोस्रो लेगमा सिटीका लागि रियाद महरेजले दुई गोल गरे ।
खेलको ११ औं मिनेटमा महरेजले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । ६३ औं मिनेटमा फिल फोडिनको पासमा व्यक्तिगत दोस्रो गोल गर्दै महरेजको सिटीको जित सुनिश्चित गरे ।
पीएसजीले १० खेलाडीमा सिमिति रहदै खेलको अन्त्य गरेको थियो । ६९ औं मिनेटमा एन्जल डी मारियाले रातो कार्ड खाएपछि पीएसजीमाथि दबाब थपिएको थियो । डी मारियाले मैदानबाहिर बल गएको अवस्थामा फर्नान्डीन्होलाई जानाजान खुट्टाले हानेपछि रेफ्रीले रातो कार्ड दिएका थिए ।
अब सिटीले उपाधिका लागि चेल्सी र रियल मड्रिडबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । फाइनल खेल टर्कीको इस्तानबुलमा मे २९ मा हुनेछ ।
प्रकाशित मितिः २०७८ साल वैशाख २२ गते बुधबार, ११:४८
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook