भरतपुरः भरतपुरबाट काठमाडौंका लागि आज अपराह्न उडेको यति एयरको जेटस्ट्रिम विमानमा चरा ठोक्किएपछि आकस्मिक अवतरण गरिएको छ ।

अपराह्न ४ बजेर १० मिनेटमा उडेको जहाजमा भरतपुरको रिजालचोकमाथि पुग्दा सानो भंगेरो जातको चरा इन्जिनमै ठोक्किएपछि आकस्मिक अवतरण गरिएको यति एयरका भरतपुर शाखा प्रमुखले जानकारी दिए

यति एयरलाइन्सको 9N AIS कलसाइनको जहाज २२ यात्रु लिएर काठमाडौँका लागि उडेको थियो । जहाज उड्ने बित्तिकै इन्जिनमा चरा छिरेको आशंका गरेपछि तत्कालै भरतपुर विमानस्थलमा आकस्मिक अवतरण भएको हो। समयमै अवतरण गराएका कारण ठूलो दुर्घटनाबाट जहाज जोगिएको भरतपुर विमानस्थलले जनाएको छ ।


यात्रुहरु सकुशल रहेका छन् । उनीहरुलाई अर्को जहाज झिकाएर काठमाडौं पठाइएको छ ।

यसअघि पनि तारा एयरको विमान भरतपुरबाट मेघौली जाँदा चरा ठोक्किएपछि जहाजमै प्वाल परेको थियो ।