बागलुङः नेपाल पत्रकार महासंघ बागलुङ शाखाले निष्क्रिय पत्रकारको सदस्यता नवीकरणको सिफारिस नगर्ने भएको छ ।

दुई वर्षभन्दा बढी समयदेखि विदेशमा रहेका सदस्यको पनि जिल्लामा सदस्यता नरहने शाखाले जनाएको छ । महासंघ प्रदेश समितिको निर्देशनअनुसार सदस्यता शुद्धीकरण अभियान थालिएको शाखा अध्यक्ष दिल शिरीषले बताए ।

शाखामा हाल आबद्ध रहेका १८१ सदस्यमध्ये बढीमा ३५ जना पत्रकारमात्र सक्रिय छन् । वर्षौंदेखि पत्रकारितामा नरहे पनि वार्षिक शुल्क बुझाएकै भरमा सदस्यता नवीकरण हुने गरेको छ । सदस्यता लिनेमा राजनीतिक दलका नेतादेखि व्यवसायीसम्म छन् ।

‘पत्रकारितामा निष्क्रिय सदस्यलाई सक्रिय बनाउन पहल गर्छौं’, अध्यक्ष शिरीषले भने, ‘क्रियाशीलता नदेखिएमा सदस्यता नवीकरण हुन्न ।


।’

जिल्ला शाखाअन्तर्गत रही सदस्य लिने पत्रकारको न्यूनतमरुपमा भए पनि समाचार या अखबारी लेखन नियमित हुनुपर्ने जनाइएको छ । पत्रकारिता पेशालाई जिम्मेवार र मर्यादित बनाउन सदस्यता शुद्धीकरण गर्नु परेको शाखा सचिव राम थापाले बताए ।

महासंघ केन्द्रले पनि सदस्यता नवीकरण र नयाँ सदस्यता वितरणमा कडाइ गर्ने नीति अख्तियार गरेको छ । मुलुकभर महासंघका साधारण सदस्य हजारौँको संख्यामा रहे पनि कममात्र सक्रिय पत्रकारितामा छन् ।

निष्क्रिय सदस्यहरू महासंघको नेतृत्व फेर्ने चुनावमा मतदाताको भूमिकामा मात्र सीमित छन् । महासंघको प्रदेश नं ४ समितिको पहिलो बैठकले पनि सदस्यता शुद्धीकरण गर्ने निर्णय गरेको थियो ।

जिल्ला शाखाबाट गएको सिफारिसकै आधारमा महासंघ केन्द्रले सदस्यता नवीकरण र नयाँ सदस्यता वितरण गर्ने गरेको छ । रासस