भक्तपुरः भक्तपुरमा धानको उत्पादन गत बर्षहरुमा भन्दा यस वर्ष राम्रो भएको छ । गत वर्षको तुलनामा यस वर्ष भक्तपुरमा सात प्रतिशतले धान उत्पादनमा वृद्धि हुने आंकलन गरिएको छ ।

अहिले भक्तपुरका चारवटै नगर क्षेत्रका किसानहरु उत्पादन भएको धान सुकाउन र भित्राउने चटारोमा रहेकोे देखिन्छ ।

बिगतका वर्षहरुमा भन्दा यस वर्ष धानको उत्पादन राम्रो भएको भक्तपुरका किसानहरुले बताएका छन् । यस वर्ष लकडाउनका कारण बेलैमा रोपाई भएको, समयमा नै पानी परेको तथा धेरै पानी पर्नु जस्ता कारणले धान उत्पादन बढेको किसानहरु बताउँछन् ।

कोरोना महामारीका कारण खेतमा काम गर्ने जनशक्ति अभाव भएका बेला भक्तपुरका किसानहरु छिमेकीहरु एक अर्काको सहयोगमा रमाउँदै कोरोना जोखिमलाई बिर्सेर धान भित्राउन व्यस्त भएका छन् ।


भक्तपुरको समग्र तथ्यांक नआए पनि बिगतको वर्ष भन्दा यस वर्ष धान उत्पादन बढेको आंकलन गरिएकोे कृषि ज्ञान केन्द्र ललितपुरले जनाएको छ ।

गत बर्ष भक्तपुरमा ३ हजार ९ सय २५ हेक्टरमा धान खेती हुँदा १९ हजार ७ सय ५ मेट्रिक टन धान उत्पादन भएकोमा यस बर्ष ३ हजार ९ सय हेक्टरमा धान खेतीबाट २१ हजार ८४ मेट्रिक टन धान उत्पादन हुने आंकलन छ । यो उत्पादनको हिसावले गत बर्षको तुलनामा ७ प्रतिशतले बृद्धि हो ।


प्रकाशित मितिः २०७७ साल कार्तिक २ आइतबार, १४:५८