काठमाडौंः यस वर्ष कोरोना भाइरसको महामारीका कारण राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वराजा ज्ञानेन्द्र शाहले सर्वसाधारणलाई टीका नलगाइदिने भएका छन् ।

कोरोना भाइरस (कोभिड १९( संक्रमण फैलने उच्च जोखिमका कारण सर्वसाधारणलाई राष्ट्रपति, प्रधानमन्त्री र पूर्वराजाले टीका नलगाइदिने भएका हुन् ।

पूर्वराजाले शनिबार औपचारिकरुपमै टीका नलगाइदिने घोषणा गरिसकेका छन् भने राष्ट्रपति कार्यालय र प्रधानमन्त्री कार्यालयले त्यस्तो औपचारिक घोषणा गर्न बाँकी छ ।

राष्ट्रपति भण्डारीले कोरोना भाइरसका कारण सर्वसाधारणलाई टीका नलगाउने तयारी गरिरहेको शीतलनिवासले जनाएको छ ।


प्रधानमन्त्री निवास बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री ओलीले पनि यस वर्ष सर्वसाधारणलाई टीका नलगाइदिने तयारी गरेका छन् ।

कोरोना भाइरसका कारण सामाजिक दुरी कायम गर्नुपर्ने भएकोले यो वर्ष सर्वसाधारणलाई टीका लगाउने तयारी रहेको बालुवाटार स्रोतले जनाएको छ ।

पूर्वराजा ज्ञानेन्द्र शाहले पनि यसपटक सर्वसाधारणलाई दसैंको टीका लगाउने कार्यक्रम रद्द भएको जानकारी दिएका छन् । शाहका तर्फबाट जारी विज्ञप्तिमा दसैंमा सर्वसाधारणलाई टीका लगाइदिने कार्यक्रम नरहेको उल्लेख गरिएको छ । यस वर्ष महाअष्टमीका दिन विभिन्न शक्तिपीठहरूमा दर्शन गर्ने र विजया दशमीका दिन टीका लगाइदिने कार्यक्रम नहुने विज्ञप्तिमा लेखिएको छ ।

विगतका वर्षहरुमा राष्ट्रपति, प्रधानमन्त्री र पूर्वराजाले समेत दुई/तीन दिनसम्म सर्वसाधारणलाई दसैंको टीका लगाइदिने गरिन्थ्यो ।


प्रकाशित मितिः २०७७ साल कार्तिक २ आइतबार, १२:२०