विदेशमा प्रियजन गुमाउने नेपाली परिवारको वेदनामा आधारित लोकगीत ‘बोल माया’ अहिले चर्चामा छ ।

बागलुङका सर्जक प्रकाश सपूतले निर्माण गरेको उक्त गीत अहिले युट्युबमा सर्वाधिक हेरिएकोमध्ये नम्बर १मा छ । सार्वजनिक भएको छ दिनमै उक्त गीत नेपालमा १२ लाखभन्दा बढी पटक युट्युबमा हेरिएको छ । धेरैपछि नेपाली लोकगीत ‘युट्युब ट्रेडिङ’ को १ नम्बरमा आएको छ।

सामाजिक विषयवस्तु, मौलिक रचना र प्रस्तुतीकरणका कारण उक्त गीतलाई सर्वाधिक रुचाइएको छ । नेपालमा मात्र नभएर विदेशमा पनि गीतले उत्तिकै दर्शक, स्रोता कमाएको छ । कतार र संयुक्त अरब इमिरेट्समा मा पनि उक्त गीत युट्युब ट्रेडिङको धेरै अगाडि आएको छ ।


। गीतले विदेशमा रहेका नेपालीको जीवन भोगाइलाई जीवन्त ढङ्गले उठान गरेको छ ।

सपूत आफैँ निर्माता रहेको गीतमा रचना, संगीत, स्वर, अभिनय र छायाङ्कन निर्देशनसमेत उनकै छ । गीतमा मूल स्वर भने लोकगायक नारायण रायमाझी र गायिका शान्तिश्री परियारको छ । गीतको अन्तिम खण्डमा मात्र सपूतको स्वर सुन्न पाइन्छ । गीत रचना, संगीत र स्वरसँगै म्युजिक भिडियो निर्माणले पनि गीतलाई न्याय गरेको छ ।

गीतको मर्म र भावलाई भिडियोमा जीवन्त ढङ्गले उतार्न निर्देशकका हिसाबले भिडियो हेर्ने जो कोहीलाई कलाकारको अभिनय र घटनाको प्रस्तुतीकरण नाटकीय लाग्दैन । “यथार्थ र वास्तविकता दिने कोशिश गरेका छौँ”, सर्जक सपूतले भने। भिडियोको छायाङ्कन सपूतकै जन्मथलो बागलुङ धम्जामा गरिएको थियो ।

विदेशबाट काठको बाकसमा शव आएको, परिवार र आफन्तजनले रातभर शव कुरेको, शवअघि विक्षिप्त हुँदै श्रीमतीले बिलौना गरेको जस्ता दृश्य भिडियोमा छन् । धन ल्याउने आशामा विदेश गएका श्रीमान्को शव आएपछि श्रीमतीले गर्ने बिलौना नै गीतको केन्द्रीय भावभूमि हो । मर्मस्पर्शी शब्द, संगीत र स्वरसँगै कलाकारको जीवन्त अभिनयले गीतमा प्राण भरेको छ ।