काठमाडौंः सिरि ए फुटबलमा शीर्ष स्थानको युभेन्ट्सले एसी मिलानसँग लज्जास्पद हार ब्यहारेको छ ।

मंगलबार राति भएको खेलमा दुई गोलको अग्रता जोगाउन नसक्दा युभेन्ट्सले मिलानसँग ४–२ ले लज्जास्पद हार ब्यहोरेको हो ।

निकै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । युभेन्टसले दोस्रो हाफको सुरुवाती ८ मिनेटमा नै २–० को अग्रता लिएपनि १८ मिनेटको अन्तरमा लगातार ४ गोल खाएपछि हार बेहोरेको हो ।

खेलको ४७ औं मिनेटमा फ्रान्सेली मिडफिल्डर एड्रियन रोबोटले उत्कृष्ट गोल गर्दै युभेन्टसलाई अग्रता दिलाएका थिए । ५२ औं मिनेटमा क्रिस्टियानो रोनाल्डोको गोल गर्दै युभेन्टसलाई २–० ले अगाडी बढायो ।


तर ६२ औं मिनेटमा ईब्राहिमोभिचले पेनाल्टीमा घरेलु टोली मिलानलाई खेलमा फर्काउने कोशिश गरे । थप ५ मिनेटको अन्तरमा फ्रेन्क किसी र राफेल लिओले एसी मिलानलाई ३–२ ले अघि बढाए । खेल सकिन १० मिनेट बाँकी रहदाँ एन्टी रेबिकले गोल गर्दै टोलीलाई शानदार पुनरागमन जित दिलाए ।

यस हारका बाबजुद युभेन्टस अंक तालिकाको शीर्षस्थानमा ७ अंकले अगाडी रहेको छ । युभेन्टसको ३१ खेलमा ७५ अंक छ भने लाजियो ३१ खेलमा ६८ अंकसहित दोस्रो स्थानमा छ । मिलान भने ३१ खेलमा ४९ अंकसहित पाँचौ स्थानमा उक्लिएको छ ।

यस्तै, मंगलबार नै भएको अर्काे खेलमा लाजियो लेच्चेसँग २–१ ले पराजित भयो ।

पाँचौ मिनेटमा फिलिपे काइसेडोको गोलमा लाजियोले अग्रता लिएको थियो । ३० औं मिनेटमा लेच्चेका खौमा बबकारले गोल गर्दै खेल बराबरीमा ल्याए । दोस्रो हाफको दोस्रो मिनेटमा फाबिओ लुचिओनिले लेच्चेका लागि विजयी गोल गरे ।


प्रकाशित मितिः बुधबार, असार २४, २०७७, १२:२३