काठमाडौंः अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना (कोभिड–१९) भाइरसको संक्रमण रोक्ने प्रयासस्वरुप युरोपेली देशबाट आफ्नो देशमा गरिने सबै हवाई उडानमा एक महिनाका निम्ति रोक लगाएका छन् ।

बीबीसीका अनुसार कोरोनाभाइरसका कारण बेलायतबाहेकका अन्य युरोपियन मुलुकको यात्रामा प्रतिबन्धको घोषणा गरेका हुन् ।

यस्तो घोषणा गर्नुअघि अमेरिकी राष्ट्रपति ट्रम्पले कोरोनाभाइरसको चुनौतीसँग लड्ने प्रतिवद्धता व्यक्त गर्दै मिडियामा पनि एकता र शक्तिको समयका रुपमा देख्न चाहेको बताएका थिए ।

ट्रम्पले कंग्रेसलाई अमेरिकी अर्थतन्त्रमा कोरोना भाइरसको प्रभाव रोक्नका लागि कांग्रेसलाई कर छुटका उपायसहितका बिल पास गर्न आग्रह गरेका छन् ।


अमेरिकाको यो निर्णयको असर विश्वभर पर्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

अमेरिकामा भने हालसम्म १ हजार १ सय ३५ जनामा कोरोना लागेको प्रमाणित भइसकेको छ भने ३८ जनाको मृत्यु भइसकेको छ ।

यसैगरी, इटालीमा कोरोनाभाइरसको प्रकोप नियन्त्रण गर्न किराना र औषधीबाहेक सबै पसलहरु बन्द गर्ने घोषणा गरिएको छ ।

युरोपको सबैभन्दा कडा प्रतिबन्धहरु घोषणा गरिएको उक्त देशमा संक्रमितहरु र मृतकको संख्या निरन्तर बढ्दै गएपछि त्यस्तो निर्णय लिइएको हो ।

इटालीका प्रधानमन्त्री जुजेप्पे कोन्टेले बार, रेन्टुरेन्ट, कपाल काट्ने पसल र अति आवश्यकीयबाहेका सबै किनमेल केन्द्र बन्द हुने बताए ।

सामान घरमै पुर्‍याउन भने रोकिने छैन ।


प्रकाशित मितिः बिहीबार, फागुन २९, ०८:२४