काठमाडौंः युरोपेली मुलुकहरुमा कोरोना (कोभिड–१९) भाइरस संक्रमणका कारण मृत्यु हुने मानिसको संख्या ३४ सय ४० पुगेको छ ।

कोरोना भाइरसको संक्रमणबाट ७ हजार ९८७ जनाको मृत्यु हुँदा युरोपका २४ मुलुकमा मात्रै ३४ सय ४० जनाको मृत्यु भएको हो ।

पछिल्लो समय इटालीमा कोरोना भाइरसको संक्रमण बढ्दो छ । पछिल्लो २४ घण्टामा इटालीमा थप ३ सय ४५ जनाको मृत्यु भएको छ भने हालसम्म त्यहाँ मृत्यु हुनेको संख्या २ हजार ५ सय ३ जनाको मृत्यु पुगेको छ ।

इटालीमा संक्रमितको संख्या पनि दैनिकजसो ३ हजार भन्दा बढी हुने गरेको छ । मंगलबार ३२ सय ३३ जनामा संक्रमण देखिएकोमा आज ३५ सय २६ जना नयाँ संक्रमित थपिएका छन् ।


। इटालीमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३१ हजार ५ सय ६ पुगेको छ । संक्रमित २ हजार ९ सय ४१ स्वास्थ्यलाभ गरेर घर फर्केका छन् भने उपचार गराइरहेका २ हजार जनाको अवस्था गम्भीर छ ।

कोरोना संक्रमण रोक्न इटालीमा सोमबारदेखि ‘लक डाउन’ समेत लागु भइसकेको छ ।

यस्तै अर्को युरोपियन देश स्पेनलाई पनि कोरोनाले सताएको छ । यहाँ पछिल्लो २४ घण्टामा १९१ मानिसको मृत्यु भएको छ । योसँगै कोरोनाबाट स्पेनमा मृत्यु हुनेको संख्या ५ सय ३३ पुगेको छ भने ११ हजार ८ सय २६ जना संक्रमित भएका छन् ।

यसैगरी, फ्रान्समा १ सय ७५, बेलायतमा ७१, नेदरल्याण्डमा ४३, स्विटजरल्याण्डमा २७, जर्मनीमा २६, सनमारिनोमा ११, बेल्जियममा १०, स्वीडेनमा ८ जनाको मृत्यु भएको छ ।

कोरोनाविरुद्ध लड्न विभिन्न उपाय अवलम्बन गरेका युरोपेली युनियन (ईयू) सम्बद्ध राष्ट्रहररुले मृत्यु र संक्रमणदर ह्वात्तै बढेपछि सतर्कता अपनाइरहेका छन् । यही क्रममा ईयूले २६ देशका सीमा नाका ३० दिनका लागि बन्द गर्ने निर्णय लिएका छन् ।


प्रकाशित मितिः बुधबार, चैत ५, ११:०२