काठमाडौंः विधान परिमार्जन गरेर युवामैत्री कार्यक्रम सञ्चालन गरेमात्र कांग्रेसले आगामी निर्वाचनमा राम्रो नतिजा ल्याउन सकिनेमा नेताहरुले जोड दिएका छन् ।

गणेशमान सिंह तथा जनआन्दोलन शहीद स्मृति शान्ति प्रतिष्ठानले शुक्रबार आयोजना गरेको ‘वर्तमान राजनीतिक परिस्थितिः कांग्रेसको अबको गन्तव्य’ विषयक कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले कांग्रेस सच्चिएर अगाडि बढ्नुको विकल्प नभएको बताएका छन् ।

कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले सोच र संगठनमा परिवर्तन गरेर कांग्रेस अगाडि बढ्ने बेला आएको बताउँदै “प्रजातान्त्रिक आस्थाको केन्द्र कांग्रेस हो, कांग्रेसले सबै प्रजातन्त्रवादी शक्तिलाई समेट्नु आवश्यक छ भन्ने धाराण ब्यक्त गरेका छन् ।


। उनले, सबै क्षेत्रको भरोसा गर्नलायक पार्टी कांग्रेस भएको बताउँदै जनताले कांग्रेसबाट नयाँपन खोजेको र सोहि अनुरुप अगाडि वढ्दा समग्र कांग्रेसलाई नै हित गर्ने बताए ।

कार्यक्रममा बोल्दै सांसद भीमसेनदास प्रधानले कमजोर अवस्थामा रहेको कांग्रेसलाई बलियो अवस्थामा फर्काउनका लागि सबैले आफ्नो क्षेत्रबाट महत्वपूर्ण भूमिका खेल्नुपर्ने र मुलुकका विभिन्न राजनीतिक परिवर्तनमा महत्वपूर्ण भूमिका खेलेको कांग्रेस आज किन यस्तो अवस्थामा आयो, यसको बारेमा गम्भीर छलफल हुनु जरुरी रहेको धारणा व्यक्त गरेका थिए ।

नेपाल वार एशोसिएसनका पूर्वअध्यक्ष प्रेमबहादुर खड्काले कांग्रेसको क्रियाकलापका कारण नेपालका वामपन्थी एक भएको बताउँदै कांग्रेस सच्चिएर अगाडि बढ्नुको विकल्प नभएको धारणा राखेका छन् ।

उक्त कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका प्रा. डा. खगेन्द्र भट्टराई, डेमोक्रेटिक लयर्स एशोसिएसनका पूर्वअध्यक्ष गोपालकृष्ण घिमिरे, इञ्जिनियर एशोसिएसन नेपालका पूर्वउपाध्यक्ष धुव्र थापा, नेपाल प्राध्यापक संघका उपाध्यक्ष विनोदकुमार श्रेष्ठ, नेपाल प्रेस युनियनका पूर्ववरिष्ठ उपाध्यक्ष दामोदरप्रसाद दवाडी लगायतले पार्टीले भ्रातृ तथा शुभेच्छुक संस्थालाई बेवास्था गर्नु, निर्वाचनका बेला राम्रोसँग परिचालन गर्न नसक्नु हारको कारण भएको भन्दै  कांग्रेस एकताबद्ध भएर संगठन निर्माणमा लाग्नुपर्ने बेला आएको र कांग्रेसले निर्वाह गर्नुपर्ने भूमिकाका विविध पक्षमाथि प्रकाश पारेका थिए ।