काठमाडौंः विश्व प्रजातान्त्रिक युवा संगठनको महासभा भोलिदेखि संघीय राजधानीमा हुने भएको छ ।

प्रत्येक वर्ष आयोजना हुने यो बैठक पहिलो पटक नेपालमा हुन लागेको हो । यसअघि क्युवामा बैठक बसेको थियो ।

तीन दिनसम्म चल्ने महासभामा विश्वमा रहेका युवाको शिक्षा र रोजगारका समस्याबारे वहस गरी समाधानको उपायबारे छलफल हुने युवा संघ नेपालका वरिष्ठ उपाध्यक्ष किरण पौडेलले जानकारी दिए ।

युवा संघ नेपाल र अनेरास्ववियूको आतिथ्य तथा संगठनको आयोजनामा हुने सो महासभामा विश्वमा कम्युनिष्ट आन्दोलनको समीक्षा तथा प्रचारप्रसार गरी अबको कम्युनिष्ट आन्दोलनको बारेमा साझा धाराण निर्माण गर्ने र विश्व साम्राज्यवादविरुद्ध रणनीतिक योजना बनाइने उनले बताए ।


महासभामा विभिन्न देशबाट प्रतिनिधित्व गरेकाले कम्युनिष्ट आन्दोलन र युवाका बारेमा कार्यपत्र प्रस्तुत गर्नेछन् । नेपालका तर्फबाट परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालमा कम्युनिष्ट आन्दोलनको विषयमा कार्यपत्र प्रस्तुत गर्ने बताइएको छ ।

महासभामा साइप्रस, नामिविया, भियतनाम, लाओस, उत्तर कोरिया, क्युवा, स्पेन, पोर्चुगल, रसियालगायत ४२ देशका ७२ युवासहित २०० सयको सहभागिता हुनेछ ।