काठमाडौं: आजभोलि मानिसहरु दिनप्रतिदिन आफ्नो स्वास्थ्य तर्फ सजग बन्दै गइरहेको देखिन्छ। जसका कारण मानिसहरुले आफ्नो शरीरलाई रोग प्रतिरोधात्मक क्षमताको बिकाश गराउंदै लगेको देखिन्छ ।

उनीहरुले बजारमा पाइने औषधिक प्रयोग भन्दा पनि कसरत, व्यायामका साथसाथै स्थानीय स्तरमा नै उपलब्ध जडिबुटी सेवन गर्ने प्रचलन पनि बढ्दै गएको छ। यस्ता व्यक्तिहरुका लागि काठमाडौंको यु एन पार्क लाभदायक बन्न पुगेको छ।

तपाइँ बिहानै थापाथाली पुल देखि वागमतीको करिडोर को प्रयोग गरेर बालकुमारी पुल तर्फ जानुभयो भने बाटोमा सयौं मान्छेहरु दौडधुप गरिरहेको देख्न सक्नुहुन्छ । जसको कारण हो आफ्नो शरीर प्रती मानिसहरुले देखाएको जिम्मेवारी ।


उनीहरुले प्राकृतिक रुपमा सरल माध्यमबाट आफ्नो शरीरलाइ स्वस्थ र फुर्तिलो राख्न चाहन्छन् । सोही अनुसार उनीहरु वागमती करिडोरको बाटो हुँदै यु एन पार्कसम्म आइपुग्छन् ।

बिशेष गरी शहरिया मानिसहरुका लागि कसरतको बढी जरुरत पर्ने मानिन्छ। जसकालागि मानिहरु सजिलो माध्यमका रुपमा मर्निङ्ग वाक् लाई लिने गर्दछन् । ग्रामिण समाजमा बसोबास गर्ने मानिसको स्वास्थ्य शहरमा बस्ने मानिसको तुलनामा धेरै गुणा राम्रो हुने बिज्ञहरु बताउँछन् । पहिलो कुरा उनीहरुमा शहरको धुलो धुँवाको असर कम पर्नु हो भने दोस्रो कुरा उनीहरुको दैनिक क्रियाकलापसंग सम्बन्धित छ।

बिशेषगरि ग्रामिण समाजका मानिसहरु कृषि पेशामा आवद्ध रहेका छन् । त्यहाँ उनीहरुले गर्ने क्रियाकलापले शरीरलाई भरपुर मात्रामा व्यायाम पुगेको हुन्छ । जसका कारण उनीहरुलाई अन्य व्यायामको खासै जरुरत पर्दैन ।

उनीहरुलाई स्वतस् रुपमा व्यायाम पुगेको मनिन्छ। तर शहरिया क्षेत्रमा बसोबास गर्ने मानिसहरु सारारिक बोझ नपर्ने हलुका किसिमका काम मात्र बढी गर्ने गर्दछन् । यसले गर्दा उनीहरुमा पर्याप्त मात्रामा व्यायाम पुगीरहेको हुँदैन । जसका कारण उनीहरुका व्यायमको सजिलो माध्यमको भनेको मर्निङ्ग वाक् हुन गएको छ।

यस्तै सयौं मानिसका लागि अहिले यु एन पार्क र वागमती करिडोर मुख्य स्थलका रुपमा रहेका छन् । बिहानको सितल र स्वच्छ हावा लिंदै मानिसहरु यु एन पार्कमा व्यायाम गर्ने गर्दछन्।

वागमती सरसफाई अभियान अन्तर्गत वागमती करिडोर बने संगै अहिले तिनकुने, कोटेश्वोर, बालकुमारी लगायतका क्षेत्रबाट मानिसहरु मर्निङ वाक गर्दै यु एन पार्क सम्म आइपुग्छन् । यसका साथै सानेपा, कुपन्डोल, जावालाखेल लगायतका क्षेत्रबाट समेत मर्निङ्ग वाक् गर्दै मानिसहरु यु एन पार्क जाने गर्दछन् ।

बिहान यु एन पार्कमा संगीतको संगै कसरत गर्नेको संख्या सयौ‌‌‌ रहेको छ । एकजना व्यापारीले भने ‘उनीहरु मर्निङ वाक गर्दै पार्क सम्म आइपुग्छन्,अलिअलि मान्छे जम्मा भएपछी पार्क भित्र संगीत बजाउँछन् र त्यसैका आधारमा व्यायाम गर्ने गर्दछन्’। पार्कको छिर्ने गेट नेर नै उनीहरुलाई लक्षित गरेर जुस तथा तरकारीका ठेलागाडा राखेका छन् ।

व्यायाम पछि उनीहरुले चाहेको अवस्थामा जमराको जुस, घ्यु कुमारीको जुस, लौका लगायतका जुसहरु पनि सेवन गर्न पाउँछन् । त्यहाँ आउनेहरुले मध्ये करिब दुइ सय जना भन्दा बढीले तरकारी समेत किनेर लैजाने व्यापारीहरु बताउँछन् ।

 

-आशिष पौडेल