काठमाडौं: सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का एक अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले योगमाया लाई राष्ट्रिय बिभुति बनाउन सबै प्रयास गर्ने बताएका छन् ।

योगमाया सामाजिक आन्दोलन अभियानले शुक्रबार काठमाडौंमा आयोजना गरेको ‘योगमाया सामाजिक आन्दोलन सतवार्षिकी तथा ८७औं स्मृति दिवस समारोहु कार्यक्रममा बोल्दै प्रचण्डले योगमाया जस्ता वीर वीरांगनाहरुको योगदानबाट पाठ सिकेर अघि बढदै जाने प्रतिवद्धता पनि व्यक्त गर्दै उनले राणा कालको कठोर समयमा पनि समाज सुधारको क्षेत्रमा उल्लेखनीय योगदान दिएकी योगमायालाई राष्ट्रिय विभूति बनाउन आफूले सक्दो पहल गर्ने बताएका हुन् ।


अध्यक्ष दाहालले महिला हक, अघिकारका दृष्टिले नेपाल दक्षिण एसियामै अगाडि रहेको दावी गर्दै संविधानमै राज्यका सबै निकायमा ३३ प्रतिशत महिलाको प्रतिनिधित्व गराउने व्यवस्था गर्नु नेपालको लागि गर्वको विषय भएको बताए । उनले महिलाको हक, अधिकारलाई सुनिश्चित गराउने दिशामा कुनै प्रगति नै नभएको भन्ने भनाई सत्य नभएको भन्दै असन्तुष्टि समेत व्यक्त गरेका छन् ।

उक्त कार्यक्रममा बाल्दै डा डिला संगौलाले देशमा अझै पनि महिला हिंसा लगाएत हत्या आतंक बलात्कार भैरहदा नि सरकार के हेरेर बसेको छ भन्दै यस्ता समाजिक विकृतिलाई हटाउन कडा कानून र दण्डको व्यवस्था गरिनुपर्ने बताइन् । उनले योगमाया एक शाहसीक महिला भएको र उनले समाजका लागि गरेको योगदानलाई राज्यले सदैव सम्मान गर्नुपर्ने उल्लेख गरिन् ।

कार्यक्रममा नेकपा सांसद पम्फा भुसाल, प्रदेश नम्बर एकका मुख्यमन्त्री शेरधन राई, नेकपा नेतृ अष्टलक्ष्मी शाक्य लगायतले योगमायाको उच्च मूल्याङ्कन गर्दै उनलाई राज्यले सम्मान दिनुपर्ने बताएका छन् ।