काठमाडौंः एक आपसमा रंग दलेर मनाइने फागु अर्थात् होली सद्भाव र आत्मियताको साटासाट गर्दै आज मधेश–तराईमा धुमधाम मनाईदैछ ।

नेपालका पहाडी र हिमाली जिल्लाहरुमा आइतबार पूर्णिमाका दिन होली पर्व मनाइएको थियो ।

फगुवा अर्थात् होली तराई मधेशको आपसी सद्भाव र रङको उत्सव पनि हो ।

यो पर्वमा टाढाटाढाबाट परिवारका सदस्य र आफन्त भेटघाटका लागि एक ठाउँमा भेला हुन्छन् ।

आपसमा रङ दलेर मान्यजनबाट आशीर्वाद लिई शुभकामना आदानप्रदान समेत गर्दछन् ।

त्यसैले होलीलाई आपसी रिसराग त्यागेर सुमधुर सम्बन्ध विस्तारको पर्वको रूपमा समेत लिइन्छ ।

बाध्यता वा काम विशेषले टाढा रहेका परिवारका सदस्यहरु पनि होली मनाउन घर फर्किने भएकाले होलीलाई मिलन पर्व मानिन्छ ।


होली अर्थात् फगुवामा परिवारका सबै सदस्य, आफन्त र साथीसंगिनीहरु भेला भएर आपसमा रमाइलो गरी मीठो परिकार खाने चलन रहेकोछ ।

फागु पर्वले विभिन्न समुदायबीच देखापरेका मनोवैज्ञानिक दूरी घटाउँदै आपसी सद्भावको अभिवृद्धिमा सघाउ पुर्‍याउँछ ।

तराई क्षेत्रमा पछिल्लो समय होलीको सांस्कृतिक पक्षमाथि अतिक्रमण हुन थालेको आभाष हुन थालेको छ ।

होली अगावै गाउँघरका आँगन र शहरका गल्लीहरूमा गुन्जिने होलीका परम्परागत मधुर संगीत (होरी) अहिले सुन्न पाइँदैन ।

भोजपुरी तथा हिन्दी सिनेमाका गीतहरु बजाएर होलीका नाममा हिन्दी र भोजपुरी भाषामा रेकर्ड भएका अन्य गीतले प्रवेश पाएका छन् ।

तराईमा मौलिक लोकबाजाहरू ढोलक, डम्फा, झाल र मन्जिरी बजाएर गाइने होलीका गीत अहिले विरलै सुन्न पाइन्छ ।

होलीको बहानामा मादक पदार्थ सेवन गर्ने र यसबाट आपसी झैझडाका घटना बढ्दै गर्दा विभिन्न विकृति र विसंगति पनि थुप्रिएको छ ।

सरकारले होली पर्वकै अवसरमा आज तराईका जिल्लामा बिदा दिएको छ ।

होलीमा हुन सक्ने उच्छृङ्खल गतिविधि रोक्न प्रहरीले सुरक्षा सतर्कता बढाएको छ । कोरोना संक्रमणको जोखिमका कारण भिडभाड नगरी होली पर्व मनाउन सरकारले आह्वान गरेको छ ।


प्रकाशित मितिः २०७७ साल चैत १६ गते सोमबार, १०:१०