काठमाडौंः नेपालका उदियमान खेलाडी प्रिन्स दाहाल सेनाका रत्नजित तामाङ्गलाई पराजित गर्दै तेश्रो चौतारा साँगाचोकगढी मेयर कप तथा प्रथम तोप–२१ ब्याडमिन्टन प्रतियोगिताको राष्ट्रिय स्तरिय पुरुष एकलको फाइनल प्रवेश गरेका छन् ।

आज सम्पन्न सेमिफाइनल खेलमा सिल्क ग्रुपका दाहालले तामाङ्गलाई २१–१९, २१–१६ को सोझो सेटमा पराजित गरे । निकै नै आक्रमक देखिएका प्रिन्सले रत्नलाई सम्हालिने मौका नै प्रदान गरेनन् ।

अब उपाधिका लागि प्रिन्सले सेनाका नविन श्रेष्ठको सामना गर्नेछन् ।

साँगाचोकगढी नगरपालिकाको प्रायोजन तथा तोप–२१ को आयोजनामा भएको प्रतियोगिताको अर्को सेमिफाइनलमा नविनले सेनाकै रुकेश महर्जन माथि २१–१७, २१–१० को जित निकाल्दै फाइनलमा प्रिन्स सँगको भेट पक्का गरेका हुन् ।


यस अघि आठौं राष्ट्रिय खेलकुद अन्तर्गत दाङ्गमा भएको ४० औं राष्ट्रिय प्रतियोगितामा पनि सुदूरपश्चिमबाट खेलेका प्रिन्सले मेन्स टिम ईभेन्ट्समा रत्नलाई पराजित गरेका थिए । हालै निस्केको बिश्व जुनियर बरियतामा प्रिन्स ११ औं स्थानमा रहेका छन् भने ब्याडमिन्टन एशियाले प्रिन्सलाई उत्कृष्ट जुनियर खेलाडी घोषित गरेको थियो ।

आजै भएको क्वाटरफाईनलको खेलमा सेनाका रत्नजितले पुलिसका जीवन आचार्यलाई २१–१०, २१–१३ र प्रिन्सले सेनाका पविन लिनथेपलाई दुवै सेट २१–१७ को समान अंकले पराजित गर्दै सेमिफाइनलमा भिडन्त पक्का गरेका थिए ।

यस्तै, अर्को खेलमा नविनले आफ्नै क्लबका प्रफुल महर्जन माथि २१–१२, १६–२१ र २१–१८ तथा सेनाका रुकेश महर्जनले एपिएफका साजन कृष्ण ताम्राकारलाई २१–१३, २१–१६ को सोझो सेटमा पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेका थिए ।

कोरोनाका कारण प्रतियोगिताबाट बञ्चित रहेका राष्ट्रिय खेलाडीहरुले पहिलो पटक प्रतियोगितामा सहभागिता जनाईरहेका छन् । राष्ट्रिय स्तरका १६ खेलाडीहरुको सहभागिता रहेको प्रतियोगिताको फाईनल खेल भोलि शुक्रबार हुनेछ ।

राष्ट्रिय स्तरको पुरुष एकलका विजयी खेलाडीले नगद १ लाख ११ हजार १ सय ११ र उपविजेताले ५५ हजार ५ सय ५५ प्राप्त गर्ने छन् ।

ब्याडमिन्टनको इतिहासमा यति ठुलो रकमको पुरस्कार रहेको यो पहिलो हो । यस्तै सेमिफाईनलिष्ट रत्नजित र रुकेशले जनही १०/१० हजार प्राप्त गर्ने छन् ।


प्रकाशित मितिः २०७७ साल मंसिर २५ गते बिहीबार, १९:४०