पोखरा: नेपाल र  चीन बीचको सिमा नाका रसुवागढीबाट पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थलका निर्माण सामग्री भित्रिन थालेका छन् । रसुवागढी भन्सार अनुसार पोखरा विमानस्थल निर्माणका लागि २६ वटा टिपर र दुई पानी ट्याङ्कर रसुवागढी नाकामा आइसकेका छन्। जस मध्ये १४ वटा टिपर नाका पार गरी रसुवाको घट्टेखोला आइपुगेको छन् भने अन्य १२ वटा टिपर र दुईवटा पानी ट्याङ्कर चिनियाँ भन्सार कार्यालयबाट नेपाल आउने प्रक्रियामा छन् ।

विमानस्थल निर्माणकै लागि अन्य ४० वटा निर्माणका सवारीसाधन केरुङ आइसकेका छन् र  ती सामग्री पनि केही दिनमा नै प्रक्रिया पुरयाएर  नेपाल ल्याइने छ । चिनियाँ लगानीकर्ता एक्सपोर्ट–इम्पोर्ट (एक्जिम) बैंकले विमानस्थल निर्माणका लागि दिने सहुलियत दरको ऋण अनुमोदन गरेसँगै पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण प्रक्रिया अघि बढेकामा सन् २०२१ जुलाई १० मा निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य लिइएकोे छ ।


। चिनियाँ निर्माण कम्पनीले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको आठ प्रतिशत निर्माण कार्य सम्पन्न गरिसकेको विमानस्थल निर्माण आयोजना कार्यालयले जानकारी दिएको छ  ।

चिनियाँ कम्पनी चाइना सिएएमसी इन्जिनियरिङ र नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) बीचको सम्झौताअनुसार इपिसी (इन्जिनियरिङ, प्रोक्योरमेन्ट र कन्स्ट्रक्सन) मोडलमा अन्तर्राष्ट्रिय नागरिक उड्डयन अर्गनाइजेसनको मापदण्डअनुसार ‘फोरडी’ मोडलमा विमानस्थल बनाउने उल्लेख छ ।

चार दशकअघि पोखरा लेखनाथ महानगरपालिकाको १४, १५ र १८ वडा को तीन हजार १०६ रोपनी जग्गा विमानस्थल बनाउन अधिग्रहण गरिएकामा त्यसले नपुगेपछि थप ५२१ रोपनी जग्गा अधिग्रहण गरिएको थियो ।