काठमाडौंः नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको निधन भएको छ ।

मस्तिष्कघात भई काठमाडौंको नर्भिक अस्पतालमा उपचार गराइरहेका जोशीको शुक्रबार राति ८ः२४ बजे मृत्यु भएको नर्भिक अस्पतालले जनाएको छ ।

फागुन १४ गते घरमै स्वास्थ्य समस्या देखिएपछि जोशीलाई वीर अस्पताल लगिएको थियो । वीरले उनलाई नर्भिकमा रेफर गरेको थियो । मस्तिष्कघातका कारण उनलाई उपचारका लागि अस्पताल भर्ना गरिएको थियो । स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि जोशीको भेन्टिलेटरमा राखेर उपचार थालिएको थियो ।

उनको निधनसँगै कांग्रेसका नेता तथा कार्यकर्ताहरुले सामाजिक सञ्जालमा श्रद्धाञ्जली दिएका छन् ।


। सभापति शेरबहादुर देउवाले उनको निधनमा दुःख व्यक्त गर्दै श्रद्धाञ्जली दिएका छन् ।

कांग्रेस केन्द्रीय सदस्य जोशी पूर्वमन्त्री र पूर्वसांसद पनि हुन् ।

वि.सं. २०२० साल पुस २४ गते जन्मिएका स्वर्गीय जोशीका श्रीमती र एक छोरी छन् ।

गत संसदीय निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ८ बाट जोशी वामगठबन्धनका उम्मेदवार जीवनराम श्रेष्ठसँग पराजित भएका थिए ।

पहिलो र दोस्रो संविधानसभाको निर्वाचनमा भने जोशी सोही क्षेत्रबाट निर्वाचित भएका थिए ।


प्रकाशित मितिः २०७७ साल चैत १४ गते शनिबार, ०८:२८