सिंगापुरः सिंगापुरका प्रधानमन्त्री लि सीन लुङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई आगामी नोभेम्बरमा राजकीय भ्रमणमा आउनका लागि निम्ता दिएका छन् ।

ट्रम्पसँग भएको टेलिफोन वार्ताका क्रममा लुङले छैठौं आसियन –अमेरिका शिखर सम्मेलन र १३औं पूर्वी एसिया सम्मेलनको मौका पारेर राजकीय भ्रमणमा आउन आग्रह गरेका हुन् ।

दुई देशका शीर्ष नेताहरूका बीचमा भएको टेलिफोन कुराकानीका बारेमा सिंगापुरको विदेश मन्त्रालयले विज्ञप्ति जारी गरेर जानकारी दिएको छ ।

विज्ञप्तिका अनुसार प्रधानमन्त्री लिले यही जुन १२ तारिखका दिन सिंगापुरमा हुने ट्रम्प र उत्तर कोरियाका सर्वोच्च नेताको शिखर सम्मेलनका लागि ट्रम्पलाई स्वागत गर्न आतुर रहेको पनि बताउनु भएको थियो ।


लिले दुई नेताको शिखर सम्मेलन ऐतिहासिक र उपलब्धिमुलक हुने विश्वास समेत ट्रम्पसँगको टेलिफोन कुराकानीमा व्यक्त गरेका थिए ।

सिंगापुरले सो शिखर सम्मेलन आफ्नो देशमा आयोजना गर्नका लागि आग्रह गर्नुका साथै पर्याप्त व्यवस्थापन गर्ने प्रतिबद्धता पहिले देखि नै जनाउँदै आएको थियो ।