काठमाडौंः सरकारले कांग्रेस, राप्रपा र तत्कालीन फोरम लोकतान्त्रिकको कोटाबाट नियुक्त भएका सबै राजदूत फिर्ता बोलाउने तयारी थालेको छ । माओवादी कोटाबाट नियुक्त भएकाहरू भने यथावत् रहने भएका छन् ।

तत्कालीन एमाले र माओवादी गठबन्धनको अघिल्लो सरकारले नियुक्त गरेका १४ राजदूत शेरबहादुर देउवा नेतृत्वको सरकारले बदर गरेको थियो । र, उनीहरूका ठाउँमा नयाँ राजदूत पठाएको थियो ।

दक्षिणकोरियाका अर्जुनजंगबहादुर सिंह, म्यानमारका भीम उदास, बंगलादेशका चोपलाल भुसाल, श्रीलंकाका विश्वम्भर प्याकुरेल, कतारका रमेशप्रसाद कोइराला र संयुक्त अरब इमिरेट्सकी आशा लामालाई स्वदेश फर्काउन लागिएको हो ।


यस्तै, राप्रपाको कोटामा जापानमा राजदूत बनेकी प्रतिभा राणा, स्पेनका भरत रायमाझी र इजरायलका निरञ्जन थापालाई पनि फिर्ता बोलाइने भएको छ । विजयकुमार गच्छदार नेतृत्वको तत्कालीन फोरम लोकतान्त्रिकको कोटामा ओमनको राजदूत बनेकी शर्मिला पराजुली पनि फिर्ता बोलाउने सूचीमा छिन् ।