काठमाडौंः सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्यको अधिकार सम्बन्धी कानुनको दफा १३ मा ‘कुनै गर्भवती महिलालाई बिदा अपुग हुने भएमा स्वास्थ्यकर्मीको परामर्श बमोजिम थप एक महिना तलबसहित प्रसुति बिदा पाउने अधिकार हुनेछ’ भनेर स्पष्ट उल्लेख छ ।

गत मंसिर १९ मा शिक्षा विकास निर्देशनालयले गर्भवती तथा सुत्केरीलाई प्रसूति बिदा कार्यान्वयन गर्न र गराउन देशभरका शिक्षा इकाईमा पत्र पठाए पनि कतै कार्यान्वयन भने भएको पाइएको छैन ।

नेपालको प्रचलित कानुनमा यस्ता धेरै प्रमाणहरु हुँदाहुँदै पनि राजधानीमै एक गर्भवती शिक्षिकाले बिदा नपाएको कारणले बच्चा गुमाएको कारुणिक घटना नेपालका मिडिया र संसदमा समेत उठ्यो ।


। तर सरकार भने दोषीलाई कारबाही गर्न तर्फ अझै लागेको छैन । बिहीबार प्रतिनिधिसभा संसदमा बोल्दै नेपाली कांग्रेसका नेता गगन थापाले काठमाडौंको असनस्थित त्यौड माविकी एक शिक्षिकालाई प्रअ सुरेन्द्र केसीले सुत्केरी बिदा दिनुको सट्टा मानसिक यातना दिएको भन्दै सरकारसँग कारबाहीका लागि माग गरेका छन्।

चिकित्सकले आराम गर्न सिफारिस गरेको पत्र दिँदा समेत असनस्थित त्यौड माविका प्रधानाध्यापक सुरेन्द्र केसीलेले गर्भवती शिक्षिकालाई बिदा दिएनन् । जसको कारण राजधानीको मुटुमा एक गर्भवती शिक्षिकाले बेहोरेको त्यो मानसिक शारीरिक यातना हृदयविदारित छ ।
सुत्केरी स्याहार भन्नाले विशेषगरी बच्चा जन्मेको ६ हप्तासम्मलाई बुझिन्छ । ९ महिनासम्म गर्भमा बच्चा हुर्काएर जन्म दिने आमा वास्तबमै देवता हुन् ।

गत चैत २४ आफूले अस्वस्थ भएको जनाउँदै प्रधानाध्यापकलाई सुत्केरी बिदाबापत पाउने सुविधा अग्रिम रूपमा कट्टा गराइदिन आग्रह गर्दै बिदाका लागि निवेदन दिएको पीडित शिक्षिकाले नेपाल तारा लाई बताएकी छन् । डाक्टरले ‘पूर्ण रूपमा आराम गर्नुपर्ने’ सिफारिस दिँदा पनि का प्रधानाध्यापक केसीले बिदा नदिदा आफुले शिशु गुमाउन परेको पीडित पक्षले आरोप लगाएको छ । प्रधानाध्यापकले असल शिक्षा दिएर समाजलाई सही मार्गमा डोर्‍याउनु प्रमुख दायित्व हो ।सामान्य तरिकाले हेर्दा स्वभाविक देखिने तर अन्तर्गुह्यमा गर्भवतीको अपमान गर्ने यस्ता भेदभावविरुद्ध चनाखो बन्नु सबै न्यायप्रेमीको दायित्व हो ।सुत्केरी बिदा समेत दिन कञ्जुस्याईँ गर्ने प्रधानाध्यापकको रबैया दण्डनीय छ ।

गर्भवती र सुत्केरी अवस्था अत्यन्त संवेदनशील अवस्था हो। यस्तो अवस्थामा अन्य समयको तुलनामा बढी हेरचाहको आवश्यकता पर्छ। गर्भवती अवस्थामा राम्रो ख्याल गर्न सकियो भने मात्र आमा र बच्चाको स्वास्थ्यमा दीर्घकालीन रूपमा सकारात्मक प्रभाव पर्दछ । प्रजनन ऐनले तोकेको जति नै दिन बिदाको व्यवस्था गर्नुपर्छ । यस्तो बिदाको प्रावधान निजी विद्यालय र निजी प्रतिष्ठानहरू सबैतिर अनिवार्य गरिनुपर्छ । हरेक महिलालाई स्वस्थ बच्चा जन्माउने र हुर्काउने वातावरण प्रदान गरिनुपर्छ । पछिल्लो समय नेपालमा गर्भवती तथा सुत्केरीहरुको लागि सरकारले विभिन्न कामहरु गरिरहेको छ । विकट ठाउँमा रहेका सुत्केरीहरुले उपचारको अभावमा अकाल मृत्युवरण गर्न नपरोस् भनेर सरकारले हेलीकप्टर सुविधा समेत उपलब्ध गराउने निर्णय समेत गरेको छ । तर कतिपय जागिरे महिलाहरु भने आवश्यक बिदाको अभावमा मानसिक तथा शारिरिक पीडा भोग्न विवश छन् ।

सरकारले सरकारी, गैरसकारी र निजी संघसंस्थामा कार्यरत महिलाले पनि ९८ दिन सुत्केरी विदा पाउने व्यवस्थासहित सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्यको अधिकार सम्बन्धमा कानुन समेत निर्माण गरेको छ । शिक्षा नियमावली, २०५९को परिच्छेद– १९ बिदा तथा काज सम्बन्धी व्यवस्थाको १०६ मा शिक्षकले पाउने विदाहरुको विषयमा यसरी उल्लेख गरिएको छ ।

क. भैपरी आउने बिदा वर्षभरिमा छ दिन,

ख.पर्व बिदा वर्षभरिमा छ दिन,

ग. बिरामी बिदा वर्षभरिमा बाह्र दिन,

घ. सुत्केरी बिदा सुत्केरीको अघि वा पछि गरी साठी दिन,

ङ.प्रसुति स्याहार बिदा पन्ध्र दिन

च. किरिया बिदा पन्ध्र दिन,

छ. असाधारण बिदा एक पटकमा एक वर्षमा नबढाई नोकरीको तमाम अवधिमा बढीमा तीन वर्ष,

ज.अध्ययन बिदा नोकरीको तमाम अवधिमा एकै पटक वा पटक पटक गरी बढीमा तीन वर्ष ।

झ. बेतलवी बिदा बढीमा पाँच वर्ष ।

साथै नेपालको कानुनले जटिल शल्यक्रिया गर्नुपर्ने अवस्थामा चिकित्सकको परामर्श बमोजिम थप एक महिना बिदा गर्न सकिनेछ । साथै पुरुष कर्मचारीको हकमा श्रीमती सुत्केरी भएको बेला हेरविचारका लागि १५ दिन विदा दिने प्रस्ताव समेत गरिएको छ । सुत्केरी हुनुभन्दा अघि र पछि कानुनले निर्देश गरेको दिनसम्म बिदा दिनु प्रअको कानुनी दायित्व हो । गर्भवती शिक्षिकाको कमजोर स्वास्थ्य स्थितिलाई ध्यानमा राखेर भएपनि शिक्षिकालाई आराम गर्न दिनु प्रअको नैतिक दायित्व समेत हो ।

 


प्रकाशित मितिः भाद्र २६ बिहीबार, १७:१५