काठमाडौंः राजधानी काठमाडौं महानगरलाई बेसहारा सडकमानव मुक्त बनाउने अभियानको थालनीसँगै बालाजु बाइपासस्थित आश्रमको ‘स्क्रिनिङ सेन्टर’ मा सडकमानवको चाप बढ्दो छ ।

तर सेन्टरभित्रको रौनक आफ्नै खालको छ । कोही चेस खेल्दै त कोही क्यारमबोर्डमा दाउ लगाउँदै थिए । बूढाबूढी, अशक्त, महिला र बालबालिका भने घामको पार ताप्दै भेटिए । बिरामी र मनोरोगी व्यक्तिहरु भने आफ्नै तालमा एक्लै गफिँदै घरी घाम र घरी शीतलतिर सर्दै थिए । कतिपय उद्धारकर्मी सडकबाट ल्याएकालाई नुहाइधुवाइसँगै सफा कपडा लगाएर घाममा राख्दै थिए ।

महानगरका कर्मचारी, मानव सेवा आश्रमका सेवक तथा प्रहरीको एक समूह भने सडकमानवको लिखत उतार्ने, फोटो खिच्ने, उद्धार गरेकाको सरसफाइ गर्ने, खानपानको व्यवस्थापन गर्दै थिए ।


। “परिवारको पुनर्मिलनमा जाने, परामर्श दिनुपर्ने र सेवामा राख्नुपर्नेको सूची तयार पार्ने प्रयास भइरहेको छ,’ आश्रमका प्रदेश ३ संयोजक सुमन बर्तौलाले भने, ‘सबैथरि मानिस एकै ठाउँमा राखेर छाट्नु पर्दा कठिनाइ बढेको छ ।”

मंसिर २९ गतेबाट बेसहारा सडकमानवको उद्धार थालिएको हो । हालसम्म ३५० को सडकबाट उद्धार भइसकेको आश्रमले जानकारी दिएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।


प्रकाशित मितिः शनिबार, पुस १२, ०७:२२