काठमाडौंः कम्प्युटर एशोसिएशन नेपाल (क्यान) महासङ्घले आगामी माघ १५ देखि २० गतेसम्म ‘क्यान इन्फोटेक २०१९’ आयोजना गर्ने भएको छ ।

भृकुटीमण्डपको प्रदर्शनीमार्गमा ६ दिनसम्म सञ्चालन हुने मेलामा क्यान महासङ्घका सदस्य साथै विभिन्न स्वदेशी तथा विदेशी सूचना तथा सञ्चार प्रविधिसम्बन्धी कम्पनीको सहभागिता रहने आयोजकले जनाएको छ ।

‘सुबिसु क्यान इन्फोटेक २०१९ इन एशोसिएशन विथ ई सेवा’ नाम दिइएको सूचना प्रविधिसम्बन्धी मेला सूचना, तथा सञ्चार प्रविधिको प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्यले गर्न लागेको हो ।

कूल १७५ स्टल रहने मेलामा हार्डवेयर सेल्स तथा मेन्टिनेन्स, पावर सोलुसन्स, मोबाइल एसेसोरिज, डिलर र डिस्ट्रिब्युटर्स, इन्टरनेट सेवाप्रदायक, टेलिकम्युनिकेसन्स, आइसिटी कलेज तथा तालीम प्रदायक संस्थाको सहभागिता हुने बताइएको छ ।


मेला अवलोकनका लागि सर्वसाधारणलाई प्रवेश शुल्क रु १०० र विद्यार्थीका लागि रु ५० तोकिएको छ भने माघ १७ गते बिजनेस डेका दिन सबैले रु १०० शुल्क तिर्नुपर्नेछ ।

नेपाललीले बनाएका दैनिक जीवनमा प्रयोग हुने रोबोट पनि प्रदर्शन गरिने र हरेक तीन÷तीन घण्टामा चिट्ठामार्फत अवलोकनकर्तालाई उपहार प्रदान गरिनेछ बताइएको छ ।

मेलामा एक जनालाई प्रत्येक दिन बम्पर पुरस्कार प्रदान गरिनेछ ।

‘नयाँ–नयाँ प्रविधिको अवलोकनसँगै जागिरको अवसर पनि’ नारासहित आयोजना हुने मेलामा सूचना प्रविधिको क्षेत्रमा करियर बनाउन प्राविधिक विषयमा अध्ययनरत विद्यार्थीले मेलास्थलमै व्यक्तिगत बिवरण बुझाउन सक्नेछन् । सो बिवरण महासङ्घले आइटी कम्पनीमा पठाई रोजगारीका लागि सहजीकरण गरिदिने छ ।

त्यस्तै राजधानी बाहिरका विभिन्न ठाँउहरुमा पनि प्रादेशिक इन्फोटेक आयोजना गरिने भएको छ ।

महासङ्घले प्रदेश नं १ को विराटनगरमा गत पुस १९ देखि २३ गतेसम्म इन्फोटेक मेला, क्रमशः प्रदेश नं २ को वीरगञ्जमा यही पुस २७ देखि ३०, प्रदेश नं ३ को चितवनमा आगामी माघ २५ देखि २९, त्यस्तै, गण्डकी प्रदेशको पोखरामा आगामी फागुन २४ देखि २८, प्रदेश नं ५ को बुटवलमा फागुन ३ देखि ७ र कर्णाली प्रदेशको सुर्खेतमा फागुन २४ देखि २८ गतेसम्म कार्यक्रम हुने पनि आयोजकले जनाएको छ ।

 


प्रकाशित मितिः बुधबार, पुस २५, १२:४९