काठमाडौंः राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) प्रदेश २ को सरकारबाट बाहिरिने भएको छ ।

बुधबार रिपोर्टर्स क्लबले आयोजना गरेको कार्यक्रममा बोल्दै राजपा नेता मनिषकुमार सुमनले आउँदो जेठ २५ गते बस्ने राजनीतिक समितिको बैठकबाट प्रदेश २ मा बनेको फोरम नेतृत्वको सरकारबाट आफुहरु बाहिरिने बताएका हुन् ।

नेता सुमनले नेकपा र फोरम नेपालबीच भएको दुई बुँदे सहमति सत्तामा चढ्ने सिँढीमात्रै भएको गम्भीर आरोप लगाउँदै प्रदेश २ को सरकारबाट बाहिरिनुका साथै केन्द्र र प्रदेश सरकारलाई दिएको समर्थन समेत फिर्ता लिने राजपाको तयारी रहेको खुलासा गरेका छन् ।

उनले भने, ‘राजपाविरुद्ध कम्युनिष्ट र फोरम मिलेर षड्यन्त्र गरेका छन्, हामीलाई निमिट्यान्न पार्न खोजिँदैछ, हामीलाई बाईपास गरेर मधेशमा गरिने कुनैपनि सम्झौताको औचित्य छैन्, नेकपा र फोरमबीचको २ बुँदे सहमतिपनि मधेशको हितमा छैन्।


।’

नेता सुमनले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले रारा तालमा हावा खाने र काखे बालक च्यापेर चुट्किला सुनाउनेबाहेक अरु केही नसकेको बताउँदै नेकपा र फोरमबीचको सहमति पनि चुट्किला र हाँसोको पात्र भएको आरोप लगाए ।

फरक प्रसँगमा उनले रेशम चौधरीलाई बचाउनको लागि मात्रै संसद निलम्बन गर्न हुँदैन भन्ने पक्षमा राजपा नेपाल नउभिएको दाबी गरे । उनले भने,‘यो नियामावली त पाँच वर्षको लागि बन्ने हो, राजपा अपराधीलाई सांसद बनाउन हुँदैन भन्ने पक्षमै छ।’