काठमाडौंः राजसंस्था र हिन्दुराष्ट्रको माग गर्दै आन्दोलनमा रहेका विभिन्न १६ वटा संघसंस्थाहरुले राजसंस्थाको अभिभावकत्वमा सर्वपक्षीय राष्ट्रिय सरकार गठन गर्न माग गरेका छन् । उनीहरुले आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी देशलाई गम्भीर संकटबाट जोगाउन राजसंस्थासहितको सर्वपक्षीय राष्ट्रिय सरकारको माग गरेका हुन् ।

१६ वटा राष्ट्रभक्त संघसंस्थाहरुका तर्फबाट आज जारी संयुक्त विज्ञप्तिमा असंवैधानिक तरिकाले संसद विघटन भएकाले विद्यमान व्यवस्था र संविधान असफल भएको निष्कर्ष निकालिएको छ । सरकार र नेतृत्व पंक्तिसमेत असक्षम साबित भएको निष्कर्ष ती संस्थाहरुले निकालेका छन् ।


विज्ञप्तिमा भनिएको छ,‘‘वर्तमान बहुमतिय सरकारबाट अपारदर्शी, निरकुंश, अधिनायकवादी र असंवैधानिक कदमहरु चालिएबाट राष्ट्रमा अराजकता, सामाजिक द्वन्द्व, अवान्छिनीय चलखेल समेतका कारण राष्ट्रिय स.कट बढ्दै जाने आँकलन गरी सर्व पक्षीय सहमती नै नगरी ताजा जनादेशको नाम र षड्यन्त्रमा देश पुनः अस्थिर राजनीति र अनिर्णयको बन्दी हुने देखिएको छ । इतिहास त्यही रुपमा दोहोरिदैन २१ औं शताब्दीमा आवश्यक सुधार सहित राष्ट्रवादको जगमा रहने “संवैधानिक राजसस्थासहितको प्रजातन्त्र” वैकल्पिक राजनैतिक अवधारणा हो ।’’

ती संघसंस्थाहरुले अहिलेको अवस्थामा निर्वाचनमा जानु भनेको बिदेशीलाई खुसी पार्नु, देश र जनतालाई ऋण र करको थप बोझमा दबाउनु भएको तर्क गरेका छन् । देशलाई सनातन सस्कृति र संवैधानिक प्रबल राजसस्था र प्रजातन्त्र नै २१ औं नेपालको पहिचान, विकास र स्वाधिनताको लागि औचित्यपुर्ण ठहर गर्दै तत्काल सर्वपक्षीय राजनीतिक सहमति जुटाई हिमा, पहाड र तराईका सम्पुर्ण राष्ट्रवादी , देशभक्त लगायत प्रजातन्त्र प्रेमीहरु नेपालको राष्ट्रिय झण्डामा गोलबद्ध हुन अपिल समेत गरेका छन् ।

नेपाल नागरिक अभियानका संयोजक पूर्व एआइजी डा. ठाकुरमोहन श्रेष्ठले राष्ट्र अतिनै संकटमा धकेलिएकाले राजसंस्थाको अभिभावकत्वमा सर्वपक्षीय सरकार अपरिहार्य भइसकेको बताए । उनले सबै एक भएर जानुको विकल्प नभएको बताए । श्रेष्ठले भने, ‘प्रहरी, सेना र जनता सबै एक भएर जाऔ ।’ उनले एकता नै शक्ति भन्दै राजसंस्थाको ससम्मान फिर्तीसँगै नेपाली एकता आजको आवश्यकता भएको बताए । श्रेष्ठले सनातन हिन्दु राष्ट्र र राजसस्था सहित अगाडि बढ्नुपर्नेमा जोड दिए ।

नेपाली कांग्रेस बिपिका (महामन्त्री) तथा पुर्व मन्त्री सुशील सेरचनले ७२ सालको संविधान जनमतबाट नआएको तर्क गरे । उनले भने, ‘हामिहरुले राष्ट्रिय झण्डा लिएर हिड्ने हो भने हामी लक्ष्यमा पुग्न सक्छौ ।’ सेरचनले लोकतन्त्र गणतान्त्रिकले जनतालाई धर्मको नाममा झगडा गराएको आरोप समेत लगाए । सरकार असफल भैसकेको बताउँदै संबैधानिक राज सस्था सहितको ४७ सालको संविधान ल्याउन पर्नेमा जोड दिए ।

स्वतन्त्र नागरिक समाजका संयोजक हेम बिक्रम सिलवालले चार जनाको उपस्थितिमा संविधान जारी गरेकोले जनताका लागि मान्य नहुने बताए । उनले भने, ‘७२ सालको संविधान खारेज हुनु पर्छ ।’ सिलवाले निर्वाचनको औचित्य सकिएको जिकिर गरे ।

पुनरुत्थानवादी शक्ति नेपालका प्रमुख नेता शेखरजङ्ग रायमाझीले मुलुक संकटमा फसेको बताए । रायमाझीले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान मिचेर बसेको आरोप लगाए । उनले भने, ‘१६ वटा संगठन एक ठाउँमा आएका छौ र एक भएर मुलुकलाई संकटबाट बाहिर निकाल्ने छौ ।’

सनातन सस्कृती समाज नेपालका क्षेत्रीय सभापति एस तुलाधरले सत्तामा बसेका शासक मुसा बनेको आरोप लगाए । उनले देशमा राम्रो स्थायित्व व्यवस्था स्थापनाको लागि राष्ट्रका अभियन्ताहरुलाई आफूसँग हातेमालो गरेर अगाडि बढ्न पनि आग्रह गरे ।

राष्ट्रिय जनजागरण अभियानका संयोजक मीन राज गुरुङ्गले सरकारलाई चुनावमा जान किन लागेको हो जनतालाई उत्तर दिनु पर्ने बताए । उनले राष्ट्रपतिको ठाउँमा राजसंस्था हुनुपर्ने र नेकपा र नेपाली कांग्रेस खारेज हुनुपर्ने बताए ।

विज्ञप्तिमा हस्ताक्षर गर्नेहरुमा नेपाल नागरिक अभियान, पुनरुत्थानवादी शक्ति नेपाल, राष्ट्र बचाउँ अभियान, नेपाली कांग्रेस बि.पी, राष्ट्रवादी एकता पार्टी, सनातन हिन्दु समाज, शाहि शक्ति नेपाल, विश्व हिन्दु एकता परिषद्, राष्ट्रिय जन जाग्रण अभियान, नेश्नल मुभमेण्ट, वीर गोर्खाली, स्वतन्त्र राष्ट्रवादी एकतामञ्च रहेका छन् ।

संयुक्त प्रेस बिज्ञप्ति

आज मिति २०७७।०९।०६ गते सोमबार संमाननीय प्रधानमन्त्रीद्वारा मन्त्रीपरिषद बैठकको सिफारिस भएको वर्तमान संसद् विघटन संबन्धी प्रस्ताव संमाननीय राष्ट्रपतिद्वारा स्वीकृत गरिएबाट उत्पन्न जटिलताका विषयमा राष्ट्रवादी देशभक्त संघ तथा संस्थाहरु गम्भिर ध्यानाकर्षण भएकोले संयुक्त आकस्मिक विशेष बैठकले तपसिल बमोजिंम संयुक्त पे्रस विज्ञप्ति जारी गर्ने निर्णय गरियो ।

१. नेपाललाई विभिन्न राजनीतिक वादहरुको प्रयोगशाला वनाई हरेक दृष्टिकोणले अस्थिर र असफल राष्ट्र उन्मुख वनाईदै आएको सर्व विदितै छ । मिति २०७७।०९।०५गते रविवार मन्त्रीपरिषद्को सिफारिसमा संमाननीय प्रधानमन्त्री श्री खड्गप्रसाद ओलीद्वारा वर्तमान संसद् विघटन सम्बन्धी प्रस्ताव संमाननीय राष्ट्रपतिज्यूद्वारा स्वीकृत भएकोमा सो कार्य अदृश्य आडमा असंवैधानिक तरिकाले स्वीकृत गराएवाट समेत विद्यमान व्यवस्था र संविधान असफल भएको तथा सरकार र नेतृत्व पंङ्ति समेत आफै असक्षम सावित भएको ठहर गरियो ।

२. वर्तमान बहुमतीय सरकारबाट यस्तै अपारदर्शी, निरङ्कुश, अधिनायकवादी र असंवैधानिक कदमहरु चालिदैआएबाट राष्ट्रमा अराजकता, सामाजिक द्वन्द्व, अवान्छिनीय चलखेल समेतका काराण राष्ट्रिय संकट बढ्दै जाने आँकलनगरी सर्व पक्षीय सहमती नै नगरी ताजा जनादेशको नाम र षडयन्त्रमा देश पुनः अस्थिर राजनीति र अनिर्णयको बन्दी हुने देखिएको छ । ईतिहास त्यही रुपमा दोहोरिदैन । २१ औं शताव्दिको विश्व परिवेशमा आवश्यक सुधार सहित राष्ट्रवादको जगमा रहने “संवैधानिक राजसंस्थासहितको प्रजातन्त्र” वैकल्पिक राजनैतिक अवधारणा हो । एकताका प्रतिक राजसंस्था, राष्ट्रिय सेना र नागरिक बल अबको बैकल्पिक शक्ति हुन् । षड्यन्त्र पूर्वक धर्म निरपेक्ष, संघीय गणतन्त्र घोषणापछि संवैधानिक राजसंस्थावाट जनताको नासोको रूपमा तत्कालीन सरकारलाई केहि समय सुरक्षित राखीदिन जिंम्मा दिइएका राजदण्ड र राजमुकुट ससंमान फिर्ता गराई पाउन र राजसंस्थाको अभिभावकत्वमा सर्वपक्षीय राष्ट्रिय सरकार गठन गरी अमनचयन कायम गर्न र स्वतन्त्र निश्पक्ष प्रजातान्त्रिक पध्दति वाटै निर्वाचन समपन्न गराउनु देशको पहिलो कर्तव्य हो ।

३.अहिले कै अवस्था र व्यवस्थामा निवार्चनमा जानु भनेको विदेशी प्रभुहरुलाई खुसीपार्नु र देश र जनतालाई ऋण र करको थप वोझमा दवाउनु हो । राष्ट्रिय एकता र क्षमादान नीतिको असरदार कारवाहीको समेत मध्यनजर गरी देश विरुध्दका अक्षम्य अपराधमा, अकुत भ्रष्टाचारमा संलग्न सबैलाई कानून वमोजिम हदैको कार्वाही हुनु न्यायोचित हुनेछ । उपयुक्त समय आईसकेको ठहर गरी देशलाई सनातन संस्कृति र संवैधानिक प्रबल राजसंस्था र प्रजातन्त्र नै २१ औं सताव्दीको नेपालको पहिचान, विकास र स्वाधीनताको लागि औचित्यपूर्ण ठहर गर्दैे तत्काल सर्वपक्षीय राजनीतिक सहमति जुटाई हिमाल, पहाड र तराईका सम्पूर्ण राष्ट्रबादी, देशभक्त लगायत प्रजातन्त्र प्रेमीहरु मातृभूमी नेपालको राष्ट्रिय झण्डाको मुनी गोलबध्द भई जस्तो सुकै ऐतिहासिक निर्णायक कदमका रुपमा संयुक्त आन्दोलनको आगामी कार्यक्रमहरुमा सशक्त रुपमा संचालन गर्न गराउन समेत सवैलाई समेटेर यथाशीघ्र नेतृत्व पङ्तिहरुको चयन तथा जिम्मेवारी निश्चित गरिनेछ । आदरर्णीय नेपाली दाजुभाई दिदीबहिनीहरुको सकृय साथ र सहयोगका लागि हार्दिक अपिल गर्दछौ ।


प्रकाशित मितिः २०७७ साल पुस ६ गते सोमबार, १९:४५