काठमाडौंः युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा राजस्थान रोयल्सले साविक विजेता मुम्बई इन्डियन्सलाई पराजित गरेको छ ।

अबुधाबीको शेख जायद क्रिकेट मैदानमा आइतबार राति भएको खेलमा राजस्थानले मुम्बईमाथि ८ विकेटको सानदार जित निकालेको हो ।

मुम्बईले दिएको १ सय ९६ रनको लक्ष्य राजस्थानले १८ ओभर २ बलमा मात्र २ विकेटको क्षतिमा भेट्टायो ।

राजस्थानको जितमा बेन स्टोक्सले अविजित १ सय ७, सन्जु सामसनले अविजित ५४, रोबिन उथप्पाले १३ तथा कप्तान स्टिभ स्मिथले ११ रन बनाए ।

मुम्बईका जेम्स पाटिनसनले २ विकेट लिए ।

यस अघि टस जितेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ५ विकेट गुमाएर १ सय ९५ रन बनाएको थियो ।


मुम्बईका लागि हार्दिक पाण्डयले अविजित ६०, सूर्यकुमार यादबले ४०, इशान किशनले ३७ र सौरभ तिवारीले ३४ रन बनाए ।

क्विनटन डी कक र कप्तान केइरन पोलार्ड समान ६/६ रन बनाएर आउट भए ।

राजस्थानका श्रेयस गोपाल र जोफ्रा आर्चरले २/२ तथा कार्तिक त्यागीले १ विकेट लिए ।

जितसँगै राजस्थानले मुम्बईसँग अघिल्लो खेलमा व्यहोरेको हारको बदला समेत लिएको छ । सिजनको पहिलो भेटमा राजस्थानलाई मुम्बईले ५७ रनले हराएको थियो ।

जितसँगै राजस्थानले १२ खेलमा १० अंक जोडेको छ । राजस्थान तालिकाको छैटौं स्थानमा उक्लिएको छ ।

मुम्बईले भने ११ खेलमा १४ अंक जोडेको छ । मुम्बई शीर्ष स्थानमा यथावत रहेको छ ।


प्रकाशित मितिः २०७७ साल कार्तिक १० सोमबार, ०६:१४