मुलुक बिश्वब्यापी माहामारी कोरोनाको संक्रमणबाट उभ्रिन पाएको छैन अहिले फेरी अबिरल बर्षा, बाढी र पहिरोको प्राकृतिक चपेटामा नराम्ररी फसेको छ। राष्ट्रिय बिपद्को यो बेलामा आपतमा परेका जनताको सेवामा सम्पूर्ण शक्ति लगाएर जुट्नु पर्ने बेलामा पार्टी भित्र गुटबन्दी गर्दै प्रधानमन्त्रीको कुर्सी ताक्ने प्रवृत्ति गलत हो भन्ने मत पार्टी भित्रै बढेर गएको छ ।

राष्ट्र र राष्ट्रियताको सवालमा ऐतिहासिक कार्य गरेको र विपत् ब्यबस्थापनमा सम्पूर्ण शक्ति लगाएर जनसेवामा लागिरहेको बेला देशीविदेशी शक्तिको उक्साहटमा आफ्नै बहुमतको सरकार गिराउने र मुलुकलाई अस्थिरतातिर धकेलेर धमिलो पानीमा माछा मार्न खोजेको अभियोगमा प्रचण्ड लगायतका असन्तुष्ट नेताहरुलाई स्पष्टिकरण माग्नु पर्छ र अनुशासनको कारबाही चलाउनु पर्छ भन्ने आवाज पनि कार्यकर्ता पंक्तिबाटै चर्को रुपमा उठ्न थालेको छ ।


प्रमुख प्रतिपक्षी दल कांग्रेस लगायतका अन्य दलहरुले समेत प्रधानमन्त्रीको राजीनामा माग्न नसकिरहेको बेलामा आफ्नै दल भित्रकै नेताहरुले नितान्त ब्यक्तिगत स्वार्थ र प्रतिशोधको राजनीतिबाट प्रेरित भएर जनअभिमत बिपरित सरकार गिराउने षडयन्त्रमा लाग्नु पार्टी बिरोधि गतिविधि हो ।

त्यस्तो पार्टी बिरोधि गतिविधिमा लागेका नेता कार्यकर्तालाई कारवाही गर्नु पर्ने पार्टीका कार्यकारी अध्यक्ष नै त्यसरी आफैं पार्टी भित्र गुटबन्दी गर्दै हिड्न थालेपछि पार्टी अध्यक्ष प्रचण्डको भुमिका र कार्यक्षमता माथी नै गम्भीर प्रश्न खडा भएको छ ।

एउटा विधि र प्रक्रियाबाट अध्यक्ष र प्रधानमन्त्री बनेको व्यक्तिले कसैले हट भन्दैमा हट्ने र बस् भनेर बस्ने होईन । पार्टी एकीकरण नटुङ्गिएको अबस्थामा प्रचण्ड वा ओली कोहि पनि एक्लो अध्यक्ष हुन संभव छैन । जहाँ सम्म प्रधानमन्त्रीको सवाल छ त्यो प्रचण्ड कै माग र चाहना बमोजिम ओली पूर्ण कार्यकालको प्रधानमन्त्री र प्रचण्ड कार्यकारी अध्यक्ष भनेर टुङ्गि सकेको विषय हो ।

कसैलाई प्रधानमन्त्री, राष्ट्रपति वा पार्टी अध्यक्ष बन्ने सनक चलेकै भरमा बेला कुबेला पार्टीले त्यसै अनुरुपको निर्णय गर्नु पर्दछ भनेर जिद्दी गर्नु भनेको अराजकता हो। अराजकताले पार्टी निर्माण हुन्न, विघटन हुन्छ ।

यतिखेर नेकपामा अराजकता हावी भएको छ र पार्टी बिखण्डनको स्थिति पैदा भएको छ । त्यसैले आफ्नै पार्टी नेतृत्वको झण्डै दुई तिहाईको बलियो र स्थिर सरकार विरुद्ध षडयन्त्र गरेको र बिकास र समृद्धिको राष्ट्रिय अभियानलाई बिचैमा तुहियाउने आत्मघाती कदम चालेको अभियोगमा पार्टी अध्यक्ष प्रचण्डलाई नै अनुशासनको कारबाही चलाउनु पर्ने र पार्टीबाट घोक्रेठ्याक लगाउनु पर्ने माग पूर्व एमाले पंक्तिबाट मात्र होईन पूर्व माओवादी पंक्तिबाटै पनि जोडतोडले उठाउन थालिएको छ ।

प्रचण्ड लगायतका अन्य असन्तुष्ट भनिएका नेताहरुले आफुहरुलाई नसच्याए द्वन्द्वकालीन युद्ध अपराधसँग जोडिएका र सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगमा परेका उजुरीहरु कोट्याउन थाल्नु पर्ने सुझाव पनि  प्रधानमन्त्रीलाई दिईएको छ । त्यसो भयो भने प्रचण्डको पार्टी अध्यक्ष र प्रधानमन्त्री बन्ने सपना मात्र तुहिने होईन सम्पूर्ण राजनीतिक जीवन नै सदाकालागी समाप्त हुने निश्चिति छ ।

क्यान्टोनमेन्टमा रहेका वास्तविक लडाकु भन्दा धेरै संख्या देखाएर सरकारबाट रकम बुझेको र लडाकुलाई बिदाई गर्दा प्रदान गरिएको रकम पनि उनीहरुलाई पूरा नदिएर अरबौंको भ्रष्टाचार गरेको मुद्दा अझै पनि अख्तियारमा बिचाराधिन नै छ । राज्य कोषको दुरुपयोगको त्यो थन्किएको फाईल पल्टियो भने आफू लगायत पूर्व माओवादीका थुप्रै नेताहरुको बास बालुवाटार वा पुल्चोकमा होईन जेलको चिसो छिँडीमा हुनेछ भन्ने हेक्का कमरेड प्रचण्डलाई राम्रैसंग हुनु पर्छ ।

पार्टीको सचिवालय, स्थायी समिती, केन्द्रीय कमिटी र संसदीय दल सबै तिर सुविधाजनक बहुमत भएका र बर्तमान ओलि सरकार ढाल्न सबै देशीविदेशी शक्तिको साथ र समर्थन पाएका प्रचण्डले प्रधानमन्त्री ओलीलाई  प्रधानमन्त्रीबाट हटाउन त परे जावस् एउटा रौं पनि हल्लाउन नसक्नु पछाडिको कारण पनि त्यही नै हो ।

प्रधानमन्त्री ओलिलाई “अहिले नै राजीनामा गर, भरे नै राजीनामा गर” भन्दै पार्टी भित्र गुटबन्दी गर्दै हिंडेका र प्रधानमन्त्रीले स्वेच्छाले राजीनामा नगरे कारबाही गरेर हटाउने धम्किपूर्ण दम्भ प्रदर्शन गर्दै आएका प्रचण्ड त्यही तत्वबोध कै कारण एक्कासी लल्याक लुलुक्क गलेका हुन् ।

प्रधानमन्त्रीको राजीनामाको पुर्ववत् अडानबाट हठात् पछी हट्दै सहमति र सहकार्यको अर्ति उपदेश दिन प्रचण्डलाई बाध्य बनाउने धातु अरु केही होईन “हेग” को कठघरामा कसरी उभ्भिने भन्ने त्रास नै हो । बालुवाटारबाट चितवन पुग्ने बितिक्कै फेरिएको प्रचण्डको जिब्रो त्यसैको द्योतक हो ।

त्यसैले पार्टी भित्रको सबै सांगठनिक संरचनामा प्रचण्ड बहुमतका बाबजुद प्रचण्डको त्यो “यू टर्न” र पार्टीका वरिष्ठ नेता माधव नेपालको रहस्यमय मौनताको पछाडि चीनिया राजदुतको अप्रत्याशित सक्रियता र पार्टीपंक्तिका दोश्रो पुस्ताको ठाडो हस्तक्षेप मात्र जिम्मेवार छैन, प्रचण्ड-माधवको टाउकोमा झुन्डिएको भ्रष्टाचार र अनियमितता र द्वन्द्वकालिन अपराधको तरवार बढी जिम्मेवार देखिन्छ ।

प्रचण्डको ढाडमा टेकेर प्रधानमन्त्रीको टाउकामा हान्न खोजिरहेका माधव नेपाल बालुवाटार जग्गा प्रकरण उल्टिने डरले थरथर काप्न थालेका छ्न् । भुँईको टिप्न खोज्दा बगलिको पोखिने देखेपछि उनी पनि दुई कदम पछी हट्न बाध्य भएका हुन् । कतै प्रचण्ड र प्रधानमन्त्री मिलेर आफुलाई पाखा पो लगाउदै छन् कि भन्ने मनोबिज्ञानबाट ग्रस्त छन् ।

पूर्व प्रधानमन्त्री झलनाथ खनाल पार्टी भित्रका बिचरा नेता मात्र हुन् । न उनका पछी दुई चार नेता छन् , न त सभासद् नै । जहाँ सम्म बामदेब गौतमको सवाल छ, उनी जता मल्खु, उतै ढल्कु गर्दै आएका पिँध नभएको लोटा हुन् । बेला छँदै प्रधानमन्त्रीसंग मिले थोरै तिनो केही भेट्टाउलान् नै । बढी खाने लोभमा प्रचण्ड – नेपालको पछी लागिरहँदा बिगतमा झैँ यस पटक पनि हात पर्यो शून्य हुन बेर छैन ।

पूर्व एमाले नेताहरू बिचको अन्तरबिरोधमा खेलेर साखुल्य पल्टिन खोजेका प्रचण्डको भित्री गुरु योजना के हो ? त्यो कसैबाट छिपेको छैन । पूर्व एमाले नेताहरु बीच फाटो ल्याउने र पार्टी र सत्ता दुबैको बागडोर एकलौटी हत्याउने उनको भित्री मनसायमा माधव, झलनाथ र बामदेब कसैको पनि भविष्य सुरक्षित देखिदैन । त्यसैले पार्टी भित्र चुलिएको विवाद र अन्तर पार्टी सत्ता संघर्षमा अबका केही दिन भित्रै स्थितिले कोल्टे फेर्ने निश्चित छ ।

पार्टीमा विद्यमान संकट समाधान गर्न पार्टी भित्र व्यापक सुधारको आवश्यकता छ । कार्यकारी हैसियतका अध्यक्ष प्रचण्डले समन्वयात्मक भुमिका निभाउन छाडेर पार्टी भित्र गुटबन्दी गर्न बन्द गर्नु पर्दछ भने प्रधानमन्त्रीको बोली र बचनमा लगाम लगाउन र सरकारको नीति र कार्य पद्धतिमा पनि सुधार र फेरबदल गर्न अत्यन्त जरुरी भईसकेको छ ।

बल अहिले प्रचण्डको खुट्टामा छ । अब उनले फाउल खेल्छ्न् कि “फेयर प्ले” ? सिङ्गो टिमको जीत हुने गरी गोल गर्लान् कि आफै हार्ने आत्मघाती गोल ? जवाफ खोज्न अलि दिन प्रतीक्षा गर्नै पर्ने भएको छ ।

  • मदन बस्नेत/भक्तपुर

प्रकाशित मितिः बिहीबार, साउन १, २०७७, ०६:४५