काठमाडौंः सरकारले अत्यावश्यक कामबाहेक राति १० बजेदेखि बिहान ५ बजेसम्म सर्वसाधारणलाई हिँडडुल गर्नमा रोक लगाएको छ ।

आज गृह मन्त्रालयले जारी गरेको ‘बन्दाबन्दी (लकडाउन) लाई व्यवस्थित गर्ने सम्बन्धी सुरक्षा मापदण्ड २०७७’ मार्फत् अत्यावश्यक कामबाहेक राति १० बजेदेखि बिहान ५ बजेसम्म हिँडडुलमा रोक लगाएको हो ।

लकडाउनलाई खुकुलो पारेसँगै यसलाई व्यवस्थित गर्नलाई मापदण्ड बनाइएको हो ।

सोही मापदण्डले रातिको समयमा नागरिकलाई हिँडडुल गर्न कडाइ गर्ने व्यवस्था गरेको हो ।

मन्त्रालयले रातिको समयमा एक जिल्लाबाट अर्को जिल्लामा अनुमतिबिना प्रवेश गर्नेको संख्या बढेसँगै सुरक्षा जाँचमा थप कडाई गर्न निर्देशन दिएको छ ।


यसैगरी विवाह, व्रतबन्ध, मृत्यु संस्कारलगायत सामाजिक तथा सांस्कृतिक कार्य तथा गतिविधिमा १५ जनाभन्दा बढी सहभागी हुन नपाउने प्रावधान पनि सुरक्षा मापदण्डमा उल्लेख गरिएको छ । यस्ता कार्यमा सामाजिक दूरी कायम गर्नुपर्ने समेत भनिएको छ ।

उद्योगरकलकारखानालगायत कार्यस्थलमा एक स्थानमा एकपटकमा १० जनाभन्दा बढी भेला हुन पाइने छैन ।

मन्त्रालयले कोभिड–१९ संक्रमणको जोखिम कायम नै रहेको भन्दै सबै नागरिकलाई स्वास्थ्य सम्बन्धी उच्च सतर्कता अपनाउन पनि भनेको छ । कार्यस्थल, सार्वजनिकस्थल तथा अन्य काममा बाहिर निस्कँदा कम्तीमा २ मिटरको सामाजिक दुरी कायम गर्न र नियम पालना गरेरनगरेको अनुगमन गर्न पनि सुरक्षा निकाय र स्थानीय प्रशासनलाई निर्देशन दिइएको छ । कार्यस्थलमा रहँदा, सेवा प्रवाह गर्दा र आवतजावत गर्दा अनिवार्य रुपमा मास्क र स्यानिटाइजरको प्रयोग गर्न पनि मन्त्रालयले भनेको छ ।

यस्तै मालसामान ढुवानी गर्दा चालक र सहचालक बाहेक कसैलाई पनि बोक्न नपाइने व्यवस्था ल्याइएको छ ।

ज्येष्ठ नागरिक, बालबालिका, सुत्केरी, गर्भवती महिला र अशक्त व्यक्तिलाई अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्किन प्रोत्साहित गर्न पनि मन्त्रालयले भनेको छ ।

मन्त्रालयको आदेश कार्यान्वयमा खटिएका सुरक्षा अधिकारीहरुलाई पनि उच्च सावधानी अपनाउन भनिएको छ ।


प्रकाशित मितिः शुक्रबार, असार ५, २०७७, १९:२५