काठमाडौंः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संयुक्तबीच पार्टी एकताको समझदारी बनेको छ ।

कमल थापा नेतृत्वको राप्रपा र अध्यक्षद्वय पशुपति शमसेर जबरा र डा. प्रकाशचन्द्र लोहनीको नेतृत्वमा रहेको राप्रपा संयुक्तबीच शनिबार राति पार्टी एकता गर्ने सैद्धान्तिक सहमति भएको हो ।

सहमति अनुसार फागुन २८ गते पार्टी एकताको घोषणा हुनेछ ।

सहमति अनुसार एकीकृत पार्टीमा तीन अध्यक्षको व्यवस्था गरिएको छ । जसअनुसार थापा, राणा र लोहनी महाधिवेशनसम्मका लागि अध्यक्षका रुपमा समान हैसियतमा रहनेछन् ।

सत्तारुढ र प्रमुख प्रतिपक्षी बाहेक राष्ट्रियता र प्रजातन्त्रको धरातलमा खडा भएको राजनीतिक शक्तिको उपस्थिति जनताले खोजेकाले पार्टी एकता गर्ने सहमति गरेको नेताहरुले बताएका छन् ।


पार्टीको नीति र सिद्धान्त पूर्ण धार्मिक स्वतन्त्रतासहित सनातन धर्म सापेक्ष हिन्दु राष्ट्र, साझा संस्थाको रुपमा राजसंस्था रहने लगायत हुनेछ । अहिले राप्रपाको झण्डा नै एकीकृत पार्टीको झण्डा हुनेछ भने चुनाव चिन्ह टुंगो लागेको छैन । यसबारे पार्टीको उपयुक्त निकायबाट ६ महिनाभित्र निर्णय लिने सहमति छ ।

यस्तै आगामी ढेड वर्षभित्र महाधिवेशन गर्ने, त्यसबेलासम्म पार्टीको दैनिक कार्यसञ्चालनका लागि तीन अध्यक्ष रहने निर्देशक समिति बनाइनेछ ।

विज्ञप्तिमा एकिकरण सम्बन्धि आधारपत्र र कार्यविधि निर्धारण गर्न राप्रपाबाट दिपक बोहरा, बुद्धिमान तामाङ र भाष्कर भद्रा र राप्रपा संयुक्तबाट बिक्रम पाण्डे, ठाकुर शर्मा र श्याम तिमिल्सिना सम्मिलित कार्यदल गठन गरिएको जनाएको छ ।



प्रकाशित मितिः आइतबार, फागुन २५, ०९:२३