काठमाडौँ: धापासीस्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचार गराइरहनु भएका राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई थप उपचारका लागि भारतको नयाँदिल्लीस्थित मेदान्त अस्पतालमा लैजाने तयारी गरिएको उहाँका छोरी उषा अधिकारीले जानकारी दिनुभयो । घिमिरेको आन्तरिक रक्तस्राव नरोकिएपछि चिकित्सकको सल्लाहमा उपचारका लागि भारत लैजान लागिएको उहाँले बताउनुभयो ।

गत वैशाख २८ गतेदेखि निरन्तर आन्तरिक रक्तस्राव भएपछि राष्ट्रकवि घिमिरे अस्पताल भर्ना हुनुभएको हो । उहाँको उपचारमा संलग्न चिकित्सक डा विवेक शर्माले सानो आन्द्राबाट नियमित रक्तश्राव आउने ठाउँ पत्ता लाग्न नसकेकाले थप उपचारको लागि भारत लैजान सुझाव दिएको बताउनुभयो ।


“साना आन्द्राको कुन भागबाट रक्तस्राव भइरहेको छ । त्यो पत्ता लगाउने उपकरण नभएकाले रक्तस्राव रोक्न हामीलाई समस्या भयो । त्यसैले थप उपचारका लागि भारत लैजान सुझाव दिएका हौँ ।” उहाँका अनुसार सानो आन्द्रा परीक्षण गर्ने ‘इन्टेरोस्कोपी’ उपकरण अस्पतालसँग छैन ।
छोरी अधिकारीले बुधबार अपराह्न ५ बजे नेपाली सेनाका चिकित्सक डा शिवविक्रम सिलवाल र छोरा इन्दीवरका साथ उहाँलाई भारत लैजाने तयारी गरिएको बताउनुभयो । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रकवि घिमिरेको स्वास्थ्य अवस्थाबारे सोमबार जानकारी लिनुभएको थियो ।