किभः रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका आलोचक भनी पहिचान बनाएका एकजना रुसी पत्रकारको गोली हानी हत्या गरिएको छ ।

उनको हत्या युक्रेनको राजधानी किभमा मङ्गलबार साँझ भएको समाचारमा जनाइएको छ । ती पत्रकारले युक्रेनबाट क्राइमिया टुक्रिने समयमा पुटिनको भूमिकाको निकै विरोध गरेका थिए ।

राजधानी मस्कोमा रहेर पत्रकारिता गरिरहेका उनी त्यसपछि भागेर प्राग पुगेका र पछि किभमा बस्दै आएका थिए । उनलाई के कस्तो असुरक्षा थिए भन्ने बारेमा केही खुलेको छैन । उनको हत्यापछि प्रहरीले अनुसन्धान सुरु भएको बताएको छ ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको विरुद्धमा उनले केही समय अघि निकै समाचारहरु लेखेका थिए ।


। उनी रुसका एकजना चर्चित र खोज पत्रकारको रुपमा काम गरिरहेका बताइएको थियो ।

युक्रेनको राजधानी किभमा मङ्गलबार साँझ गोली हानी छोडिएको अवस्थामा फेला परेका उनको केही क्षणमै ज्यान गएको थियो । उनको शरीर रगतले लत्पतिएको अवस्थामा भेटिएको किभ प्रहरीले जनाएको छ ।

प्रहरीले अहिले नै केही भन्न सक्ने अवस्था नरहेको भन्दै तर अहिलेसम्मको अवस्था हेर्दा उनको निकै पहिलादेखि नै पछ्याएर र सुनियोजित रुपमा हत्या भएको संकेत मिलेको जनाएको छ ।

अर्काडी बाब्चेन्को नामका ती पत्रकार ४१ वर्षका थिए । उनी युक्रेनबाट क्रिमिया टुक्रिएर रुसमा विलय भएदेखि नै पुटिनका आलोचक बनेका थिए । उनलाई गोली हानेको आवाज सुनेको र घटनास्थलमा पुग्दा उनको अवस्था निकै गम्भीर पाएको उनकी श्रीमतीले जनाएकी थिइन् ।

तर रुस विरोधी नेता र पत्रकारहरुका लागि पछिल्ला केही वर्षहरुमा किभ पनि एक असुरक्षित स्थान बन्दै गएको महसुश भएको बताइन्छ । दुई वर्षयता पुटिन विरोधी अरु पनि नेता र पत्रकार किभमा मारिएका छन् ।